उपेन्द्रलाई तनाव: मन्त्री बन्ने अनेक, छान्न सकेनन् एक


काठमाडौं – जनता समाजवादी पार्टी नेपालले सरकार गठन भएको एक महिना वितिसक्दा पनि मन्त्रीको टुंगो लगाउन सकेको छैन । मन्त्रीकै टुंगो लगाउनको लागि भदौ १ र २ गते बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय गरिसकेको भदौ १ अघि सरकारमा पार्टीबाट कसलाई पठाउने भन्नेबारे टुङ्गो नलाग्ने निश्चित भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले भने, ‘भदौको पहिलो हप्ता यता सरकारमा सहभागिता सम्भव छैन, भदौ १ गतेदेखि पार्टीको बैठक छ, त्यो बैठकपछि मात्र मन्त्री चयन गरेर पठाउने छौं ।’

सरकारको साझा न्युनतम कार्यक्रम आइसकेपछि जसपा नेपालले एमाले माधवकुमार नेपाल पक्षको निर्णयलाई कुरेको भन्दै आलटाल गरेको थियो । तर अहिले आएर भदौ १ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकपछि मात्र सरकारमा कसलाई पठाउने भन्नेबारे टुङ्गो लाग्ने जनाएको छ ।

सरकारका बारेमा एमाले माधवकुमार नेपाल पक्षले पनि केही निर्णय दिइएको छैन र काँग्रेसको पनि केन्द्रीय समिति बैठक सुरु भएकोले अहिले हतार गरेर मन्त्री पठाउने काम नगर्ने उनले बताए ।

हतारमा मन्त्री पठाएर पछाडि पश्चाताप गर्नुभन्दा सबै कुरा ठीकठाक पारेर मात्र सरकार जाने आफूहरुको सोच रहेको अध्यक्ष यादवको भनाइ छ ।

प्रतिक्रिया