

कांग्रेसले अझै जुटाउन सकेन १४औं महाधिवेशन कार्यतालिका

काठमाडौं – १४ औं महाधिवेशन कार्यतालिकाका जुटाउन नेपाली कांग्रेसलाई सकस परेको छ । महाधिवेशन कार्यतालिकाका बारेमा शीर्ष नेताहरुबीच निरन्तर छलफल भएपनि सहमति जुट्न सकेको छैन ।
बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठक पछि केन्द्रीय सदस्यहरुको सुझावबाट महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भएको छ ।
बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेश गर्ने एजेण्डा थियो तर शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘केन्द्रीय सदस्यहरुको सुझावपछि महाधिवेशनको कार्यतालिका आउँछ,’ प्रवक्ता शर्माले भने ।
बैठकमा निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले निर्वाचन निर्देशिका पेश गरेका थिए भने क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सदस्यताबारे ब्रिफिङ गरेका थिए ।
भदौ १६-१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिकाका बारेमा शीर्ष तहमा छलफल भइरहेको छ ।

