झुठो विवरण पेश गरी नागरिकता लिन खोज्ने ज्वाइँससुरासहित तीन जना कारागार चलान


सप्तरी – झुठो विवरण पेश गरी नागरिकता बनाउन खोज्ने ज्वाइँससुरासहित तीन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले वडाध्यक्षको कीर्ते दस्तखतसहित झुठो विवरण पेश गरी नागरिकता लिन खोज्दा पक्राउ परेका राजबिराज नगरपालिका-१५ का देवन यादव, उनका ज्वाइँ भारतीय नागरिक शिवनन्दन यादव र राजबिराज-१५ का सञ्जीवकुमार यादव पुर्पक्षका लागि बुधबार कारागार चलान भएका हुन् ।

स्थानीय सञ्जीवसँग मिलोमतो गरी वडाध्यक्ष रामप्रसाद यादवको हस्ताक्षर, वडा कार्यालय छाप, लेटरप्याडसमेत कीर्ते तयार गरी देवनले भारतीय नागारिक रहेका ज्वाइँलाई छोरा बनाएर नेपाली नागारिकता लिन खोज्दा गत असार ३१ गते पक्राउ परेका थिए ।

सिफारिसपत्र तथा अन्य अनूसूची कागजातमा शङ्का लागेर छानबिन गर्दा नागरिकता सिफारिसपत्रमा वडाध्यक्षको नक्कली हस्ताक्षर भएको पुष्टि भएपछि ससुरा र ज्वाइँलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । वडाध्यक्षको दस्तखत जाँच गर्दा नमिलेको तथा वडाध्यक्ष स्वयंले आफ्नो दस्तखत नभएको दाबी गरेपछि कारवाही अगाडि बढाइएको थियो ।

प्रतिक्रिया