

‘५० वर्षे राजनीतिक जीवन सिध्याउन बालुवाटार जग्गा प्रकरणमा दुश्मनी साँधियो’

काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँध्ने काम गरेको बताएका छन्।
बुधबार विश्व आदिवासी दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा गच्छदारले संविधानमा रहेका त्रुटिका कारण आफ्नो ५० वर्षे राजनीतिक इतिहास समाप्त पार्ने गरी षड्यन्त्र भएको बताए।
‘त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेसले गर्नुपर्छ,’ गच्छदारले भने, ‘संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गर्यो।’
‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँढ्छ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो? त्यो दायित्व भूमि सम्बन्धी मन्त्रालयको होइन र?’ गच्छदारले भने, ‘तर, राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो।’
आफूलाई उक्त विषयमा थाहा नभएको उनको दाबी छ। ‘मलाई तह लगाउने नाममा अख्तियार लगाइयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो,’ उनले भने, ‘यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ। आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ।’

