

कुलमानले बुझे ४ वर्षको नियुक्तिपत्र

काठमाडौं – कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्। उनले आजै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन्।
घिसिङलाई ऊर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र दिएर हस्ताक्षर गर्न लगाएकी छन्। घिसिङले नियुक्तिपत्र बुझिसकेका छन्। उनले आजै प्राधिकरणमा पुगेर कार्यभार सम्हाल्नेछन्।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ।

