

जसपा सांसदको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका ३ सांसदलाई थमौती गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएको भन्दै जसपाले पार्टीका ३ सांसदलाई कारवाही गरेपछि उनीहरु सर्वोच्च पुगेका थिए ।
पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि जसपाका लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी हटाएको थियो ।
तर, यसअघिको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै रहेका बेला आफूहरुलाई पुनः कारवाही गरिएको भन्दै उक्त कारवाही यथास्थितिमा राख्न माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।
सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि भदौ ८ गतेलाई बोलाएको हो । तीन सांसदलाई पदमुक्त गर्नुको कारण पेश गर्न प्रदेश सभा सचिवालय लुम्बिनीलगायत विपक्षीको नाममा कारण देखाऊ आदेशसमेत दिएको छ ।

