कांग्रेस महाधिवेशन महाभारतः यसकारण दुई दिन अघि सारे देउवाले केन्द्रीय समिति बैठक


काठमाडौं– प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक दुई दिन अघि नै सारेका छन्। २८ साउनका लागि तोकिएको बैठक मंगलबारका लागि डाकिएको छ।

यो बैठकलाई मन्त्रिपरिषद विस्तारका लागि सारिएको भनी टिप्पणी गरिए पनि १४ औं महाधिवेशनको मिति सार्ने प्रस्तावका लागि रहेको उच्च स्रोतले जनाएको छ।

देउवाले कोरोना आपतकालिन अवस्थालगायतका कारण देखाएर संविधानतः ६ महिनाका लागि कांग्रेसको म्याद थप्ने बाटो खोजीरहेका छन् र त्यसैको छलफलसहितको प्रस्तावका लागि बैठक अगाडि सारिएको हो।

क्रियाशील सदस्यता विवाद लगभग समाप्त हुने अवस्था आए पनि देउवा तत्काल महाधिवेशनका लागि तयार छैनन्। उनी पुनः सभापतिमा निर्वाचित हुनका लागि मेलोमेसो मिलाइरहेका छन्।

तर देउवाइतरको खेमा भने महाधिवेशन सार्न नहुने अडानमा रहेको छ।

देउवाले विशेष कारण देखाएर महाधिवेशनलाई ६ महिना पछि धकेल्न खोजिरेका छन् जसको रामचन्द्र पौडेलले विरोध गरेका छन्। देउवालाई केन्द्रीय समितिको बैठकमा दबाब दिनका लागि आफू पक्षीय नेतासँग पौडेलले सोमबार नै परामर्श र छलफल गरिरहेका छन्।

‘देउवाले सरकारसँगै कांग्रेस नेतृत्व पनि कब्जा गर्ने रणनीतिका हिसाबले महाधिवेशन सार्न लागेको नेता पौडेलको आशंका छ, तोकिएको मितिमा वैधानिकता नगुम्नेगरी अनेक विकल्पमा महाधिवेशन गर्नुपर्ने उहाँको धारणा छ’, उच्च स्रोतले भन्यो।

कांग्रेसको आगामी नेतृत्वका लागि दोस्रो पुस्ताका नेताको समीकरण बनिरहेको छ भने आफूनजिकका नेता पनि विपक्षमा उभिने स्थिति आएपछि देउवा महाधिवेशन सारी नेतृत्वमा फेरि आउने वातावरण तयार पार्न चहान्छन्।

देउवाको यहि योजनाका कारण महाभारत हुने अवस्था छ। पौडेल खेमा कुनै पनि हालतमा महाधिवेशन सार्न नदिने रणनीतिमा जुटेको छ। यसअघिका बैठकमा पौडेल समूहको दबाबका कारण नै देउवाले तोकिएको समयमा नै महाधिवेशन गर्ने दाबी गरेका थिए। तर, उनी पछि हटिरहेका छन्।

प्रतिक्रिया