

कांग्रेसमा निधि ‘चक्रव्युह’ले यसरी ल्याउन सक्छ कोइराला कम्पन, देउवाका लागि चुनौति

काठमाडौं– हालै गोप्य रुपमा भारतको नयाँ दिल्लीसम्म पुगेर फर्किएका नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग महाधिवेशनको सन्दर्भमा भेट गरेका थिए।
निधिले भारतबाट आएपछि पनि सभापतिमा दाबी छाडेनन् र सहयोगका लागि देउवालाई फेरि अनुरोध गरे। तर, देउवाले यस पटक सघाए अर्को पटक सहयोग गर्ने बताएको सार्वजनिक भयो।
कांग्रेसमा देउवा नेतृत्वको सुरुआत नै निधिलाई १४ औं महाधिवेशनमा सभापतिमा सघाउने सर्तका आधारमा भएको थियो। त्यसैले देउवाले उनलाई उपसभापतिमा नियुक्त पनि गरिदिएका थिए।
महाधिवेशनका रन्को लागेपछि निधिले सभापतिमा घोषणा गरिसकेका छन्। उनी पछि नहट्ने तयारीमा छन् र त्यसका लागि छिमेकी मुलुक भारतीय शक्तिको आड भरोषासहितको सहयोगमा पनि जुटिरहेका छन्। यसबाहेक उनले पार्टीभित्र नै प्रभाव राख्न सक्ने महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसँगको अर्को समूह खडा गरेका छन्।
यो समूहले तीन जना मध्ये एक जना सभापतिमा उठ्ने घोषणा त गरेको छ तर प्राविधिक रुपमा कस्तो प्रभाव पार्ला भन्नेचाहिँ स्पष्ट खाका देखिइसकेको छैन।
सभापति देउवा कोरोना महामारीको काललाई तीन महिना शुन्य समय देखाएर महाधिवेशन सारी शक्ति आर्जन गर्ने मुडमा छन्। तर पनि महाधिवेशनले आगामी नेतृत्वमा देउवालाई आउन सहज बनाउला त?
१३ औं महाधिवेशनमा पनि दोस्रो राउन्डमा मात्र सभापतिमा जित निकालेका देउवाका लागि निधिले नछाडेको र तेस्रो समूह बलियो हुने सम्भावना रहेको छ। जसले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भनिए पनि कोइराला परिवारबाट सभापतिको दाबेदार गरिरहेका व्यक्ति आउने सम्भावना रहेको छ।
संगठनात्मक क्रियाशिलता र नेपाली कांग्रेसलाई हितैसी मान्ने छिमेकी मुलुक भारतले पनि नेतृत्वमा स्थापित गराउन खोजेका डा. शेखर कोइराला अनपेक्षित रुपमा कांग्रेस नेतृत्वमा आउन सक्ने सम्भावना रहेको देखिन्छ। कोइरालाले नेता पौडेललाई ब्याक सर्न भनिसकेका कारण त्यति दाबी देखिँदैन।
भारतीय संस्थापन नेपालमा राज्य शक्तिको पहुँचमा रहन सक्ने नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व आफूअनुकुलको बनाउने कसरतमा हुन्छ। महाधिवेशन नजिक भएको कांग्रेसमा भारतीय पक्षबाट सभापतिमा देउवालाई फेरि आउन नदिन दुईवटा कार्ड परिचालन गरिएको छ। ति हुन् विमलेन्द्र निधि र शेखर कोइराला। निधि र कोइराला मध्ये जो नेतृत्वमा आए पनि भारतीय पक्ष हर्षित हुनेछ। यद्यपि, कांग्रेसभित्रको समीकरणले निधिमार्फत फिँजाइएको देउवाविरुद्धको चक्रव्युहका कारण कोइराला नेतृत्वमा आउने सम्भावना अत्यधिक रहेको उच्च स्रोतको दाबी छ।
देउवाको बलियो व्याकपका रुपमा रहेका निधिलाई सभापतिमा अगाडि सारेर ‘डिभाइड एन्ड रुल’को नीति अन्तर्गत कोइरालालाई सभापतिमा बिजयी गराउने अधिकतम अभ्यास भारतीय पक्षको रहेको छ। जसरी, आगामी बर्ष एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पुनःस्थापित गर्ने रणनीति बनिरहेको छ।
देउवाका लागि चुनौति
यस पटकको महाधिवेशन देउवाका लागि सभापतिमा फर्किने अर्को चुनौति हो। अघिल्लो महाधिवेशनका क्रममा महामन्त्रीमा उम्मेदवार बनाइएका अर्जुननरसिंह केसीलगायतका धेरै नेताहरु देउवाइतर उभिएका छन्।
कृष्णप्रसाद सिटौलालगायतले पनि देउवालाई सहयोग नगर्ने देखिन्छ। देउवालाई साथ दिने भनेको पछि पार्टीमा विलिन भएका बिजयकुमार गच्छादार र सुनिलबहादुर थापा मात्र रहने देखिएको छ। यसैले पनि क्रियाशील सदस्य र प्रतिनिधिका लागि पछि आएकालाई देउवाले महत्व दिएका छन्।
‘कांग्रेसको महाधिवेशन भनेको भोली मुलुकको नेतृत्वको सबाल भएका कारण आन्तरिक राजनीतिमा चासो राख्ने भारतीय पक्षले अस्वभाविक प्रभाव पार्न सक्छ’, स्रोतले भन्यो,‘देउवाले सभापतिमा फेरि लड्छु भन्दा निधिले त्यसलाई नमान्नुका पछाडिका अनेक कारण छन्।’
महाधिवेशनमा देउवा, निधि र कोइराला मैदानमा उत्रिए पहिलो चरणमा सभापतिको बिजेता तय हुने सम्भावना कम रहेको छ। तर, यहि चक्रव्युहका कारण दोस्रो चरणमा भने कोइरालालाई नै सभापतिमा निधिको सहयोग हुन सक्ने अनुमान अहिलेदेखि गरिएको छ। ‘जुन स्रोतबाट आश्वासन पाएका छन् भोलीका दिनमा त्यहि शक्तिनिर्देशित हुँदा निधि कोइरालालाई सभापति बनाउन तयार हुनेछन्’, स्रोतको दाबी छ,‘त्यसैले उनले देउवापछाडिको पुस्ताको नेतृत्वको सबाललाई जोडदार रुपमा उठाइरहेका छन्।’

