बार्सिलोना छाड्दा मेसीको आँखामा थामिएन आँसु


काठमाडौं – स्टार फुटबल खेलाडी लिओनल मेसी स्पेनिस क्लब बार्सिलोनाबाट आइतबार बिदा भएका छन्। बिदाइ कार्यक्रमको सुरुमा मेसीले आफ्नो कुरा राखेका थिए।  बार्सिलोनाले आयोजना गरेको उनको बिदाइ कार्यक्रममा सुरूदेखि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भक्कानिए।

कार्यक्रमको दर्शकदीर्घामा उनकी श्रीमती र छोराहरू पनि उपस्थित थिए। मेसी भक्कानिँदा उनीहरू पनि भावुक बनेका थिए। केहीबेरमा हलभित्र उपस्थितहरूले उठेर मेसीलाई सम्मान गरेका थिए। यसअघि शुक्रबार बार्सिलोनाले मेसी अब क्लबमा नबस्ने बताएको थियो। आर्थिक र संरचनागत अवरोधका कारणले ३४ वर्षीय मेसी क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाको भनाइ थियो।

१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका अर्जेटिनाका मेसीको पछिल्लो पटक भएको सम्झौता गत जुनमा सकिएको थियो। यसअघि बार्सिलोना र मेसीबीच पाँच वर्षका लागि नयाँ सम्झौता हुन लागेको र मेसीको तलब आधा घट्ने बताइएको थियो। सन् २००० देखि बार्सिलोनामा आबद्ध मेसीले गत वर्षको अगस्टमा आफूले बार्सिलोना छाड्न चाहेको भन्दै फ्याक्स पठाएका थिए।

तर बार्सिलोनाले ७०० मिलियन युरोको रिलिज क्लज पूरा भए मात्र मेसीले क्लब छाड्न सक्ने बताएको थियो। जसका कारण मेसी अन्य क्लबमा आबद्ध हुने बाटो कठिन बनेको थियो।अन्य क्लबमा जाने प्रयासमा बार्सिलोना बाधक बनेपछि मेसीले आफ्नो प्रिय क्लबविरुद्ध कानुनी लडाइँमा नलड्ने भन्दै एक वर्ष बार्सिलोनामै बस्ने बताएका थिए।

मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए। मेसीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १७ वर्ष भएको छ। मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए।

त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन्। उनले बार्सिलोनामा रहदा ३५ उपाधि जिते। जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन्। उनी ला लिगाका सर्वाधिक ४७४ गोल गर्न खेलाडी पनि हुन्।

सन् २०१७ मा विश्व कीर्तिमानी २२२ मिलियन युरो ९२६४ मिलियन अमेरिकी डलर० मा बार्सिलोनाबाट ब्राजिलियन फरवार्ड नेइमारलाई भित्र्याएको फ्रेन्च क्लब पिएसजीले लिओनल मेसीसँग पनि सम्झौता गर्न चाहेको बुझिएको छ।

प्रतिक्रिया