यसकारण अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न असक्षम भए प्रधानमन्त्री देउवा


काठमाडौं– नेकपा एमाले माधवकुमार नेपाल समूहले शुक्रबार स्थायी कमिटीको बैठकपछि प्रष्ट भन्यो– मन्त्रिपरिषद विस्तारमा हाम्रो कुनै व्यवधान छैन, हाम्रा कारणले रोकिएको होइन।

सत्ता गठबन्धनको महत्वपूर्ण मानिएको नेपाल पक्षको यस्तो जवाफ आएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद विस्तारका लागि बाटो खुलेको छ।

खासगरी नेपाल समूहबाहेकको मन्त्रिमण्डलमा भागवन्डा पनि भइसकेको छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, नेकपा माओवादी केन्द्रले ७ र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले ७ मन्त्री लिने सहमति बनेको थियो।

देउवा सरकारमा प्रधानमन्त्रीसहित अहिले गृह, अर्थ, उर्जा, कानुन र स्वास्थ्य राज्यमन्त्री मात्र नियुक्त भएका छन्। कांग्रेस आफैंले पनि अन्य मन्त्री तय गर्न सकेको छैन।

आखिर किन अहिलेसम्म असक्षम भए प्रधानमन्त्री देउवा?

नेकपा माओवादी केन्द्रमा मन्त्री पदका आकांक्षीको संख्या व्यापक भएपछि यो समस्या आएको हो। जसपामा भने उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने तय भएको छ र उक्त पार्टीमा महन्थ ठाकुर पक्षलाई कुनै पनि भागवन्डा नगरिने लगभग तय छ।

तर माओवादी केन्द्रमा भने प्रायः सांसद मन्त्री बन्नका लागि लालयीत छन् भने स्थायी कमिटी बैठकमा एक पटक भएकालाई दोहोराउन नहुने जोडतोडको आवाज उठेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै मन्त्री बन्नेको मात्र लर्को रहेका कारण समस्या रहेको यसअघि नै सार्वजनिक फोरममा बताइसकेका थिए।

प्रधानमन्त्री देउवाले बारम्बार मन्त्रीको नाम दिनका लागि आग्रह गरे पनि माओवादी केन्द्रले नै दिन सकेको छैन। ‘एकै पटक सबैलाई शपथ गराउनेगरी प्रधानमन्त्रीको तयारी छ। तर, माओवादीका कारण मन्त्रिपरिषद विस्तार गर्नका लागि असक्षम भइरहनु भएको छ’, बालुवाटार स्रोतले भन्यो,‘गठबन्धन दलको आन्तरिक विवादले सरकारका विभागीय जिम्मेवारी दिन सकिएको छैन।’

देउवा प्रधानमन्त्रीमा नियुक्त भएका एक महिना हुन लागेको छ। खासगरी माओवादीभित्रको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद विस्तारमा समस्या हुने गरेको कतिपयको बुझाई छ।

यसअघि पनि केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि मन्त्रिपरिषद विस्तारमा बिलम्ब भएको थियो। झन्डै एक महिनापछि मन्त्रिपरिषद विस्तार गर्नुपरेको स्मरण गरेका एक जना नेता भन्छन्,‘प्रचण्डले मन्त्रालयमा बार्गेनिङ गर्छन् र उनको दलभित्र पनि को मन्त्री बन्ने भन्ने समस्या हुन्छ।’

माओवादीभित्र प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा जाने विषयमा बहस भएको थियो। अर्कातिर कृष्णबहादुर महराको पनि त्यसमा दाबी रहेका कारण समस्या आएको बताइन्छ।

मन्त्रिमण्डलमा को जाने भन्ने विषयमा विवाद हुँदा प्रचण्ड र श्रेष्ठबीच नै मनमुटाव सुरु भइसकेको चर्चा पनि सतहमा आएको छ। सरकारलाई सुझाव दिन गठन गरिएको कार्यदलले न्युनतम साझा कार्यक्रम तयार पारीसकेका कारण अब मन्त्रिपरिषद विस्तार हुने दाबी गरिएको छ।

तर, सुझाव दिने कार्यदलको प्रतिवेदन र मन्त्रिपरिषद विस्तारको साइनो सम्बन्ध नरहेको बरु दलका आन्तरिक विवादलाई विषयान्तर गर्न नेताहरु उद्दत रहेको पनि बताइन्छ।

नेपाली कांग्रेस भित्र पनि बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षबाट को–को सरकारमा सहभागी हुने भन्नेमा अन्यौल छ।

अर्कातिर प्रधानमन्त्री देउवाले बरिष्ठ उपप्रधानमन्त्री आफ्नो दलबाट बनाउनका लागि प्रचण्डलाई प्रस्ताव गरेका छन्। तर, कार्यबाहक प्रधानमन्त्रीको जिम्मा पाउने गरी बरिष्ठतम् उपप्रधानमन्त्री माओवादीका तर्फबाट हुनुपर्ने अडानका कारण पनि देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेको बताइएको छ।

प्रतिक्रिया