

खसीको भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा चार पक्राउ

काठमाडौँ – खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज शनिवार बिहान पाँच बजे कलङ्कीको खसी बजारबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पसल सञ्चालक भारतको विहार, बहराइज घर भई कलङ्की बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् ।
उनीहरूले बाख्रीको पहिचान हुने अङ्ग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ ।
यस्तै वीरगञ्जमा पनि प्रहरीले खसीको भनी बाख्राको मासु बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१३ मुर्लीका २८ वर्षीय रोज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

