

माधव नेपाल पक्षको बैठकका अन्तिम वक्ता प्रेम आलेले भिम रावललाई सिपाही भनेपछि…

काठमाडौं– नेकपा एमाले माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सकिनासाथ स्थायी कमिटीको सुरु भएको छ। केन्द्रीय कमिटी बैठकमा भएका निर्णयलाई अनुमोदन गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।
बैठकमा पार्टी एकतामा जोड दिँदै तत्काल सरकारमा जान सक्ने अवस्था नहरेको ठहर भएको थियो। एउटै पार्टी प्रतिपक्ष र सरकारमा हुन नसक्ने ठहर गर्दै कित्ता क्लियर नभएसम्म शेरबहादुर देउवा सरकारमा अहिले जान नहुनेमा धेरैको मत मिलेको थियो।
अध्यक्ष केपी शर्मा ओलीबाट पछिल्लो समय अलग भई नेपाल समूहमा प्रवेश गरेका प्रेम आले भने केन्द्रीय कमिटीमा अन्तिममा बोलेका थिए। उनले सोही क्रममा देउवालाई विश्वासको मत दिने क्रममा उपस्थित नभएका १० सांसदको प्रश्न उठाए।
उपाध्यक्ष भिम रावलप्रति सुरुदेखि नै मतभेद कायम राख्दै आएका आलेले सो क्रममा नेपाल कमाण्डर रहेको भनी प्रशंशा गर्दै अनुपस्थित १० जनामाथि प्रश्न उठाए।
रावलमाथि संकेत गर्दै उनले भने,‘युद्धको मैदानमा कमाण्डरलाई छाडेर सिपाही भाग्न मिल्छ? अहिले हाम्रो कमाण्डर माधव नेपाल हो भन्ने विर्सनु भएन।’
यसअघि पनि ओली कित्तामा रहँदा सुदूरपश्चिमको राजनीतिलाई लिएर आलेले रावलको कडा आलोचना गर्दै आएका थिए। उनले त रावलले कहिल्यै पनि चुनाव नजित्ने घोषणा गरिसकेका थिए।

