एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी


काठमाडौं – नेकपा (एमाले)को विवाद मिलाउनका लागि आज अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट हुने भएको छ।

एमाले नेता सुवास नेम्वाङका अनुसार दुई नेताबीच आज भेटवार्ता गर्ने तय भए पनि समय र स्थान भने तय भइसकेको छैन । ‘आज भेट हुन्छ, समय र स्थान ‘फिक्स’ हुन बाँकी छ,’ नेम्वाङले भने ।

गत आइतबार राति संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव बिष्णु पौडेलले अध्यक्ष ओलीसँग करिब चार घण्टा छलफल गरेका थिए। यता माधव नेपालसँग भीम रावल सुरेन्द्र पाण्डे लगायतका नेताहरुले करिब छ घण्टा छलफल गरेको एमाले स्रोतको भनाइ छ। त्यसपछि सोमबार दुवै समूहले स्थायी कमिटी बैठकमा छलफल गरेका थिए।

आ-आफ्नो समूहमा छलफल गरेर पुन विघटित कार्यदलको तहमा छलफल भएपछि आज अध्यक्ष ओलीलाई भेट्न नेपाल तयार भएका हुन्।

पछिल्लो समय ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति आक्रामक देखिएपनि विघटित कार्यदलका सदस्यहरुसहित दोस्रो तहका नेताहरूले भने पार्टी एकताका लागि निरन्तर पहल जारी राखेका छन् । दोस्रो तहका नेताहरू कै पहलका कारण ओली पक्षले माधव पक्षलाई स्पष्टीकरण सोधे पनि कारबाही अघि बढाएको छैन ।

विगतको दश बुँदे सहमतिका आधारलाई टेकेर त्यसमा आवश्यक फेरबदल गर्ने जिम्मा ओली नेपाललाई दिने विगतको कार्यदलले निर्णय गरेको छ। त्यस आधारमा जे जस्तो समझदारी गरे पनि पार्टीका नेता कार्यकर्ताले स्विकार्ने उच्च तहको समझदारी बनेको जनाइएको छ।

प्रतिक्रिया