

कांग्रेस महाधिवेशनः के महामन्त्री कोइरालाले गगन थापालगायतसँग अलग तयारी थालेका हुन्?

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको तयारीका क्रममा फरक–फरक प्रभाव पार्नेगरी पदाधिकारीका छलफल चल्न थालेका छन्।
क्रियाशील सदस्यता विवादको समाधानका विषयदेखि आगामी नेतृत्वको तयारीसम्मका विषयमा विविध हिसाबले परामर्श गर्ने क्रममा महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय सदस्य र युवा नेतासँगको सहकार्य र समन्वयको तयारी थालेका हुन्।
कोइरालाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुसँग अनौपचारिक भेटघाट थालेका हुन्। कांग्रेसको महाधिवेशन, क्रियाशील सदस्यता विवाद, सरकार सञ्चालन लगायतका विविध विषयमा महामन्त्री कोइरालाले दर्जन बढी केन्द्रीय सदस्यहरुसँग छलफल गरेको बताइएको छ।
महाधिवेशन तोकिएको समयमा कसरी सम्पन्न गर्ने र वैधानीकता कायम गर्ने, क्रियाशील सदस्य विवाद टुंग्याउन के कसरी अगाडि बढ्ने र सरकार सञ्चालन लगायतका विषयमा केन्द्रीय सदस्यहरुसँग राय लिएको स्वकीय सचिव भरत तिवारीले बताए।
केन्द्रीय सदस्यहरु दीपक गिरी, गगन थापा, प्रदिप पौडेल, सरिता प्रसाई, रामकृष्ण यादव, कमला पन्त, किरण यादव, रत्न शेरचन, गुरुराज घिमिरे, कल्याण गुरुङ, धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियार सहभागी भएका थिए।
महाधिवेशनमा सभापतिका लागि तयारी गरेका कोइरालाको यो अनौपचारिक छलफललाई युवा पंक्तिको विश्वास लिने र नयाँ समीकरण बनाउन सक्ने सम्भावनाका रुपमा पनि व्याख्या गरिएको छ।
‘कांग्रेसमा अर्को पुस्ताको हस्तक्षेप आवश्यक रहेको आवाज बुलन्द भइरहेको बेलामा महामन्त्री कोइरालाको यो छलफललाई त्यतातिर पनि लक्षित रहेको बुझ्नुपर्छ’, स्रोतले भन्यो।

