

तीनजना सचिवको सरुवा, को कहाँ?

काठमाडौं – सरकारले स्वास्थ्य मन्त्रालयका सचिवसहित ३ सचिवको सरुवा गरेको छ। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ।
स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फका सचिव लक्ष्मण हुन् अर्याल। त्यस्तै सरकारले अर्थ सचिवमा मधु मरासिनीलाई लगेको छ। यसअघि मरासिनी महालेखा परिक्षकको कार्यालयमा थिए।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार १२ साउनको मन्त्रिपरिषद बैठकले अर्यालसहित तीन जना सचिवलाई सरुवा गरेको हो। अर्थसचिव शिशिर कुमार ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
अर्यालसहित तीनै जनाले आज सरुवा भएको पत्र बुझेका छन्। अर्याल १८ जेठ २०७७ देखि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए। स्वास्थ्य मन्त्रालयमा केही दिन अघि मात्र स्वास्थ्य सेवा तर्फका डा. रोशन पोखरेल सचिवमा बढुवा भएका थिए।
स्वास्थ्यमा दुई जना सचिव हुँदा विवाद आउने भन्दै सरकारले स्वास्थ्य सेवा तर्फका पोखरेललाई मात्र राख्ने निर्णय गरेको हो।

