

वैधता गुमाएको जसपा ठाकुर पक्ष देउवा सरकारमा नजाने

काठमाडौं – जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि ठाकुर पक्षले पार्टीको आधिकारीकता गुमाएका थिए ।
उक्त पक्षले पार्टीको आधिकारिकता गुमेसँगै उत्पन्न परिस्थितिबारे संघीय संसद र प्रदेश सभाका काठमाडौमा उपलब्ध सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेका हुन्।
निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढने भन्ने विषयमा आफूहरुबीच छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारले भने नजाने स्पष्ट पारेको छ । ‘सरकारलाई समर्थन गरियो । तर सहभागी हुँदैनौं । अहिले पनि विपक्षमा बस्छौं , नेता कर्णले भने।’
सोमबार ५१ जना केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरु मध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाई दिएको आरोप लगाउँदै आएको छ ।

