को हुन् नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ?


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन्।

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको १३ औं दिनमा कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।

हालसम्म नेपाली काग्रेंसको तर्फबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जामन्त्रीमा पम्फा भुषाल नियुक्त भइसकेका छन्।

स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठ मूलतः शिक्षा क्षेत्रका व्यवसायी हुन्। श्रेष्ठ २०१२ सालमा भोजपुरमा जन्मिएका व्यक्ति हुन्। ४२ वर्षअघि भोजपुरबाट काठमाडौं आएका उनी हाल शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा संलग्न छन्। हाल झम्सीखेल ललितपुरमा उनको बसोवास छ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रहेका उनी ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष हुन्। उनी उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्व अध्यक्षसमेत हुन् भने हाल सल्लाहकार छन्।

उनी कांग्रेसमा दोस्रो पटक समानुपातिक कोटाबाट सांसद बनेका व्यक्ति हुन्। यसअघि उनी संविधानसभा सदस्य थिए। श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ।

उनले व्यावसायिक शुरुवातमा भने लिटिल एन्जल स्कूल खोलेर शैक्षिक व्यवसायीका रुपमा परिचय बनाएका थिए। उनी प्राइम कमर्सिंयल बैंकका पूर्व अध्यक्षसँगै मुख्य लगानीकर्ता पनि हुन्। उनको पछिल्लो समय जलविद्युत् आयोजनामा पनि लगानी छ।

उनी पाँचथर पावर कम्पनी प्रालिका अध्यक्ष हुन्। यस्तै सानीगाड हाइड्रो पावर बझाङ, कालङगा हाइड्रो वझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दीका पनि उनको लगानी छ।

यसैगरी चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ। पोखरामा उनको नयाँ होटल परियोजना सुरु भएको छ।

कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ। यस्तै हाउजीङ तथा रियल स्टेटमा पनि उनको लगानी छ।श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि हात हालेका छन्।

नेपालमा निजी अस्पतालमा लगानी गर्न सुरु गरेका श्रेष्ठले यस वर्ष नै ५० करोड रुपैयाँभन्दा बढी लगानीमा पाँचवटा निजी अस्पताल बनाउने तयारी गरेका छन्। यो समाचार राजधानी दैनिकमा छ।

उनी महेन्द्रनारायण निधि मेमोरियल सामूदायिक अस्पताल काठमाडौंको ट्रस्टीजको अध्यक्ष हुन्। यस्तै काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालकासमेत उनी अध्यक्ष हुन्।

प्रतिक्रिया