

कांग्रेस महामन्त्री कोइरालाको घरमा पौडेल पक्षको बैठक, को बन्दैछ सभापतिका साझा उम्मेदवार?

काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक महामन्त्री शशांक कोइरालाको घरमा डाकिएको छ। आसन्न महाधिवेशनलाई केन्द्रित गरी छलफलका लागि बैठक डाकिएको हो।
१४ औं महाधिवेशनमा सभापतिका साझा उम्मेदवार को बन्ने भन्ने विषयमा पनि छलफल हुनेछ। कांग्रेसको वडा अधिवेशन सर्ने भएपपछि उक्त विषयमा चर्चा गर्दै क्रियाशील सदस्यता विवादको विषयमा पनि छलफल हुने बताइएको छ।
स्रोतका अनुसार पेचिलो विषय बनेको सभापतिको साझा उम्मेदवार छान्नका लागि छलफल अघि बढाइने भएको हो। बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायत हुनेछन्।
संस्थापनइतरको समूहमा पनि सभापतिका आकांक्षी धेरै छन्। पौडेल आफैं अगाडि बढेका छन् भने शेखर कोइरालाले उम्मेदवारी घोषणा नै गरिसकेका छन्। सभापतिका निम्ति सिंहलगायतका नेताको पनि दाबी भएपछि साझा उम्मेदवार तयार पार्न पौडेल समूहलाई सकस परेको छ।

