कांग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदैछु : निधि


जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसलाई जिताउन आँफू सभापतिमा उम्मेदवारी दिँन लागेको बताएका छन् । महोत्तरीको जलेश्वरमा महेश्वर सिंह स्मृति भवनको उदघाटन एवं नेता महेश्वर सिंहको शालिक अनावरण कार्यक्रममा सम्बोधन गर्दै उपसभापति निधिलेआगामी चुनावमा नेपाली कांग्रेसलाई जिताउनका लागि सभापतिमा उम्मेदवारी दिन लागेको बताए ।

‘म कसैलाई पराजित गर्न होइन, कांग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदैछु,’ उनले भनेका थिए। पार्टीले पछिल्लो निर्वाचनमा व्यहोरेको हारलाई बिर्संदै थप उर्जा प्रदान गर्नका लागि आफू उम्मेदवारी दिन लागेको र यसमा सम्पूर्ण नेताकार्यकर्तालाई साथ र सहयोग दिन उनको अपिल छ।

नेपाली कांग्रेस परिवर्तन, प्रणाली र संविधानको पक्षधर पार्टी रहेकाले आफूले पार्टीको यो लाइनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका उनले कांग्रेसकै नेतृत्वमा संविधानको शतप्रतिशत कार्यान्वयन हुने दावीसमेत गरे।

एक अर्को प्रसंगमा निधिले कांग्रेसको नेतृत्वमा स्थायी सरकार बनिसकेको र यो सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका थिए। अबको डेढ वर्षपछि हुने निर्वाचन गराउने जिम्मेवारी पनि नेपाली कांग्रेसकै काँधमा रहेकाले यो अवधिमा अहोरात्र जनतामाझ गएर खट्न नेता कार्यकर्ताहरुलाई उपसभापति निधिले निर्देशन दिएका थिए।

प्रतिक्रिया