

प्रतिबन्धित ‘निलो रेडबुल’ बिक्री वितरणमा अटेरी गर्ने चारजना पक्राउ

काठमाडौं – प्रहरीले प्रतिबन्धित क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ निलो रेडबुल बिक्री वितरण गर्ने चार जनालाई पक्राउ गरेको छ। ३ असार २०७६ मा प्रकाशित राजपत्र भाग ५ को सूचना १ प्रकरण ४ को (ढ) बमोजिक क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ बिक्री वितरणलाई पूर्ण रुपमा बन्देज गरिएको छ।
काठमाडौंको न्यूरोड, सिनामंगल, पूरानो बानेश्वर, कपन, गोठाटारलगायतका स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित निलो रेडबुल नेपालमा ल्याई बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ५ साउनमा छापा मारेको हो।
उक्त स्थानमा छापा मार्दा प्रतिबन्धित निलो कलरको शक्तिबर्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी चार जना व्यक्तिको साथबाट २०२ कार्टुन अर्थात ४ हजार ८ सय ४८ थान बरामद गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए।
बरामद रेडबुलमध्ये ८४ कार्टुन बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी सर्लाही हरिपुर नगरपालिका–१ घर भई हाल काठमाडौं गोठाटार बस्ने वीरेन्द्र चौधरीले बिक्रीवितरण गरिरहेको अवस्थामा नयाँबस्ती गोठाटारबाट बरामद भएको एसपी कोइरालाले बताए।
साथै बरामद सामानहरु खुला सीमानाको फाइदा उठाउँदै भारतसँग सीमानाका जोडिएका तराईका विभिन्न जिल्लाहरुबाट लुकाईछिपाई नेपाल भित्र्याउने र पिकअप भ्यान तथा रात्रीकालिन बसका विभिन्न भागमा लुकाई काठमाडौंसम्म ओसारपोसार गरी बजारमा बिक्रीवितरण गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रबिनराज श्रेष्ठ, बाँके कोहलपुर घर भई गोगंबु बस्ने २६ वर्षीय राजु पौडेल, ओखलढुंगा चम्पादेवी घर भई निलोपुल बस्ने ३१ वर्षीय धनबहादुर श्रेष्ठ र सर्लाही हरिपुर घर भएका चौधरी हुन्।
पौडेल रेडबुल ओसारपोसारमा संलग्न रहेको र श्रेष्ठ शक्तिमाता स्टोर कपनका सञ्चालक रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका मानिसहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि भन्सार विभागमा पठाइने महाशाखाले जनाएको छ।
उक्त रेडबुल अस्ट्रेलिया र थाइल्यान्डमा मात्र उत्पादन हुन्छ। तेस्रो मुलुक भारत हुँदै नेपालमा भित्रिन्छ।

