विस्वासको मत लिनुअघि गरेको प्रतिवद्धता पूरा गर्न देउवासँग ठाकुर पक्षको माग


काठमाडौं – प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिनु पहिले गरिएका प्रतिवद्धता कार्यान्वयनमा ल्याउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले आग्रह गरेको छ।

विस्वासको मत लिनु पहिले प्रधानमन्त्री देउवाले रेशम चौधरीलगायत बन्दीहरूको रिहाइलगायत विषयमा प्रतिवद्धता प्रस्तुत गरेकोले आफूहरूले विश्वासको मत दिएको जसपाले उल्लेख गरेको छ। जसपाले संविधान संशोधनको विषय पनि उठाएको छ।

‘रेमश चौधरीलगायत राजबन्दीहरूको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत समस्याहरूको समाधान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीजीबाट व्यक्त भएको हुनाले जसपाले विश्वासको मत दिने निर्णय गरेको हो,’ जसपाले आज विज्ञप्ति निकालेर उल्लेख गरेको छ।

साथै जसपाले कोरोना महामारीमा परेका आर्थिक अवस्था कमजोर भएकालाई तत्काल राहत दिन सरकारको ध्यानाकर्षण गराएको छ। बाढीपहिरोमा परेकाहरूलाई सहयोग गर्न पनि जसपाको माग छ।

जसपा अध्यक्ष ठाकुरको अध्यक्षतामा साउन २ देखि ५ गतेसम्म केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो।

प्रतिक्रिया