

मेयर जिसीको उपचारका लागि पोखरा महानगरले १० लाख दिने

पोखरा – पोखरा महानगरले मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
पोखरा महानगरको मंगलबार बसेको ५१औं कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट उक्त रकम खर्च गर्ने निर्णय भएको महनगरका प्रवक्ता धनबहादुर नेपालीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
मस्तिष्कघात भएपछि उनको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । शुरुमा मेयर सचिवालयले हृदयघात भनेर सूचना प्रवाह गरे पनि मणिपालमा मस्तिष्कघात भएको पुष्टि भएको थियो ।
उच्च रक्तचापका कारण नसामा असर परेको देखिएको थियो । नसाकै कारण उनको शरीरको देब्रे भागमा पनि समस्या देखिएको थियो ।
मेयर जिसीको स्वास्थ्यअवस्था अहिले सुधारोन्मुख अवस्थामा रहेको सचिवालयले जानकारी दिएको छ ।

