मन्त्री श्रेष्ठद्वारा धोबीखोला करिडोरको स्थलगत अवलोकन, बिजुलीबजारमा तत्काल अन्डरपास बनाउन निर्देशन


काठमाडौं – शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उनले सो निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारी  सहितको टोलीले खोलाले ओगटेको दाया र बाया गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत  निरीक्षण गरेको थियो ।

‘मैले तपाईहरुलाई यो भन्न चाहन्छु कि अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ, हजारौ सवारीसाधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनुहदैन तत्काल निर्माण गरिनुपर्छ,’ उनले निर्देशन दिए ।

मन्त्रीको निर्देशन दिए लगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाईकाजी तिवारीलले कालोपत्रे भएका र बढी खोल्डाखुल्डी देखिएका सडकमा एक  साताभित्र पुरिसक्ने जानकारी दिए ।

मन्त्री श्रेष्ठ सहितको टोलीले ललितपुर र काठमाडौंको सिमाना शंखमुल बुद्धनगर स्थित आर्र्च बृजबाट अवलोकन शुरु गरेको थियो । हाल आर्चबृज निर्माण भएको बिजुलीबजार पुलको निरीक्षण गदै मन्त्री श्रेष्ठले सो पुलमुनि अन्डरपास निर्माण प्रकृया शुरु गर्न निर्देशन दिएका थिए ।

मन्त्री श्रेष्ठले अतिब्यस्त माइतीघर तीनकुने सडकमा सधै सवारी जाम भैरहेने सो पुलमुनी अन्डरपास निर्माण गर्न प्रकृया अघि बढाउन निर्देशन दिएका थिए । पुलमुनी पुगेर निर्देशन दिने क्रममा उनले भने, ‘सवारी चाप हुने यस्तो क्षेत्रमा किन अन्डरपास निर्माण नगरेको हो ।’

सो करिडोरले छोएको अधिकांस पुलमुनी अन्डरपास निर्माण भएपनि सो पुलमुनी फोहोर थुप्रिएको छ । नजिकैको बाटोमा ग्यारेज बनाइएको छ । सो क्रममा मन्त्रालयका सचिव डा. सिहले सकेसम्म चालु आर्थिक वर्ष  नभए एक वर्षभित्र अन्डरपास निर्माण हुने जानकारी गराएका थिए ।

ठेकेदारको कमजोरीको कारण बाटो पास गर्न सहज हुने सो पुलमा अन्डरपास निर्माण गरिएको छैन । मन्त्री श्रेष्ठ रेलिङ नाघ्दै पुलमुनी पुगेर निरीक्षण गरेका थिए । लगत्तै चावहिलस्थित ओम अस्पताल पारि पुगेका मन्त्री श्रेष्ठले बाटोमा मंगाल देखेपछि अचम्म मान्दै भने, ‘ओहो बाटोमा यत्रो खाल्डो, दुर्घटना भए को जिम्मेवार हुने ?’

करिडोरभित्र पर्ने पुलमुनी फोहोर थुपारिएको, फुटपाथमा व्यावसाय सञ्चालन गरिएको, विद्युत प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याएको थियो । अवलोकनको क्रममा प्रमका विदेश मामिला सल्लाहकार डा भट्टराईले करिडोर निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाउनुपर्ने सुझाव दिएका थिए । निर्माण गर्न अवरोध वा समस्या भए तत्काल मन्त्रालयमा जानकारी गराउन प्राधिकरणलाई आग्रह गरेका थिए ।

टोलीले धोबीखोला करिडोर शुरु भएको बुढानिकण्ठदेखि काठमाडौं र ललितपुरका सिमाना शंखमुलसम्म निरीक्षण गरेको थियो । निरीक्षण क्रममा सचिव डा. सिहले करिडोर निर्माण गर्दा देखिएका समस्या समाधान गरी तत्काल काम अघि बढाइने जानकारी गराएका थिए । अवलोकन भ्रमणपछि प्राधिकरणमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आफुसंगै अवलोकनमा गएका सञ्चारकर्मीले आफ्नो आँखाले देखे अनुसार रिपोर्टिङ गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विषेश चासो व्यक्त गरेको करिडोरको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रमका विदेश मामिला सल्लाहकार भट्टराई मन्त्रालयका सचिव र प्राधिकरण प्रमुख सहितको टोली करिडोर अवलोकन भ्रमण गरेको मन्त्री श्रेष्ठले जानकारी गराए ।

उपत्यकाको लाइफलाइनको रुपमा रहेको  धोबीखोलाको इज्जत  र सौन्दर्यता खस्कन नदिन सरकारले जस्तोसुकै कदम अघि बढाउन सक्ने मन्त्रीको भनाई थियो । केही समस्या भए म र सिङगो मन्त्रालयसंग सल्लाह गर्न आउनुन, परियोजनालाई कुनैपनि हालतमा सफल बनाउन हामी सबै लागौ –मन्त्री श्रेष्ठको भनाई थियो ।

प्रतिक्रिया