

एमाले नेता नेपालसहित २२ जनालाई कारबाही गर्न केन्द्रीय कमिटी बैठकमा ‘हुटिङ’
२४ घन्टाभित्र स्पष्टिकरण बुझाउनुपर्ने ओलीको प्रस्तावमाथि छलफल

काठमाडौं– पार्टीको निर्णयविरुद्ध प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बसेको प्रतिनिधि सभामा विश्वासको मत दिने २२ जनालाई कारबाही गर्नुपर्ने भन्दै एमाले केन्द्रीय कमिटीको बैठकमा हुटिङ भएको छ।
अध्यक्ष केपी शर्मा ओलीले २४ घन्टे स्पष्टिकरण सोध्नुपर्ने प्रस्ताव राखेपछि केन्द्रीय सदस्यहरूले भने सोमबारको बैठकले नै कारबाही गर्नुपर्ने भन्दै हुटिङ गरेको थियो।
पार्टी अनुशासन र नियम मिच्नेले विधि र पद्दतीका नाममा एमाले विभाजनको बाटोमा लगेको भन्दै नेता माधवकुमार नेपालसहित २२ जनालाई कारबाही गर्नुपर्ने माग उठेको हो।
देउवालाई एमालेका नेता नेपालसहित विरोध खतिवडा, समिना हुसेन, कल्याणी खड्का, मेटमणि चौधरी, गोपाल बक, सरला यादव, धनबहादुर बुढा, भवानी खापुङ, लक्ष्मी चौधरीलगायतले विश्वासको मत दिएका थिए।
यस्तै, कलिला खातुन, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, प्रेम आले, विनादेवी बुढाथोकी, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, पुष्पा कर्ण, निरा जैरु, पार्वती विसुंखे, हिराचन्द्र केसी र कृष्णलाल महर्जनलाई पनि कारबाही गर्न माग भएको छ। उनीहरुले पनि देउवालाई विश्वासको मत दिएका थिए।

