अदुवा र बेसारखेतीतर्फ किसान आकर्षित


दमौली – तनहुँको घिरिङ गाउँपालिका–२ चिन्ने खोलाका शेरबहादुर थापाले विगत केही वर्षदेखि अदुवाखेती गरिरहेको छ । शुरुमा निर्वाहमुखी रुपमा मात्रै अदुवाखेती गरेका थापाले गत वर्षदेखि अदुवाखेतीलाई व्यवसायिक बनाएको छ । घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने किसानलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यवसायिक बनाएको हो ।

‘अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा पनि आफैले प्रयोग गर्ने गरी खेती गरिरहेको थिएँ’, उनले भने, ‘तर स्थानीय सरकारले व्यवसायिक रुपमा खेती गर्नेलाई अनुदान दिने व्यवस्था मिलाएपछि यसलाई व्यावसायिक बनाउनेतर्फ लागेँ ।’ हाल उनले चार रोपनी क्षेत्रफलमा अदुवा खेती गरिरहेको छ ।

घिरिङ गाउँपालिका–१ अत्रौलीका रोमनाथ पोख्रेलले पनि दुई रोपनी क्षेत्रफलमा बेसारखेती गरिरहेको छ । ‘रोपनी भन्दामाथिको जग्गामा खेती गर्नेलाई अनुदान दिने व्यवस्था ल्याएपछि खेतीलाई विस्तार गरेँ,’ उनले भने, ‘अनुदानले हामी जस्ता किसानलाई राहत मिलेको छ ।’

घिरिङ गाउँपालिकाले अदुवा र बेसारखेती गर्ने किसानलाई अनुदानको व्यवस्था मिलाएपछि किसान यसतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा गाउँपालिकाभित्रका नौ किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । निर्वाहुमखी खेती गर्ने किसानलाई व्यवसायिक बनाउँदै गाउँपालिकालाई अदुवा र बेसारमा आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले जानकारी दिए । ‘यो शुरुवात हो, प्रत्येक वर्ष किसानलाई उत्पादनका आधारमा अनुदान दिन्छौ,’ उनले भने।

उनका अनुसारप्रति रोपनी रु पाँच हजारका दरले किसानलाई अनुदान वितरण गरिएको छ । अदुवाखेती गर्ने सात किसानलाई रु एक लाख ४० हजार र बेसारखेती गर्ने दुई किसानलाई रु २० हजार अनुदान दिइएको छ । अदुवाखेती गर्ने घिरिङ गाउँपालिका–२ चिन्ने खोलाका शेरबहादुर थापाले चार रोपनीबापतको रु २० हजार, बेसारखेती गर्ने घिरिङ गाउँपालिका–१ अत्रौलीका यदुराज पोख्रेलले रु दश हजार, बेसारखेती गर्ने घिरिङ गाउँपालिका–१ अत्रौलीका रोमनाथ पोख्रेलले रु दश हजार, अदुवाखेती गर्ने घिरिङ गाउँपालिका-३ नेवापानीका लोकबहादुर गुरुङले रु ३० हजार, अदुवाखेती गर्ने घिरिङ गाउँपालिका–५ किटियाका मीनबहादुर थापाले रु २५ हजार, अदुवाखेती गर्ने घिरिङ–५ मान्फका टोलबहादुर थापा, ओमबहादुर थापा, सोमबहादुर थापा र शेरबहादुर थापाले रु ६५ हजार प्राप्त गरेको छ ।

गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिने व्यवस्था आगामी आर्थिक वर्षमा पनि मिलाएको अध्यक्ष थापाले बताए । ‘यसले गर्दा किसान यसको खेतीतर्फ आकर्षित हुने विश्वास लिएका छौ,’ उनले भने ।

गाउँपालिकाले लसुन र प्याजखेती गर्ने किसानलाईसमेत अनुदान वितरण गर्दै आएको छ । गाउँपालिकाले लसुन र प्याजखेती गर्ने किसानलाई पनि प्रति रोपनी रु पाँच हजारका दरले अनुदान रकम वितरण गरेको छ । गाउँपालिका अनुसार १८ जना किसानलाई उक्त अनुदान रकम वितरण गरिएको छ ।

प्रतिक्रिया