

यस्ता छन् एमाले स्थायी कमिटी र संसदीय दल बैठकका एजेन्डा
देउवालाई विश्वासको मत नदिन सबै सांसदलाई ह्विप जारी गरिने

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक शुक्रबार बस्दैछ। दुईवटै बैठकका एजेन्डा तय भइसकेको विवरण प्रवक्ता प्रदिप ज्ञवालीले संक्षेपमा सार्वजनिक गरेका छन्।
बालकुमारीको तुलसीलाल अमात्य प्रतिष्ठानमा हुने स्थायी कमिटीको बैठकमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि दिएको परमादेशका विषयमा आधिकारिक धारणा एमालेले बनाउने प्रवक्ता ज्ञवालीले उल्लेख गरेका छन्।
यस्तै सोही स्थायी कमिटी बैठकले वानेश्वरमा हुने संसदीय दलको बैठकको एजेन्डा तय गर्नेछ। प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिनका लागि आफ्ना सांसदलाई ह्विप जारी गर्ने निर्णय पनि हुनेछ।
एमालेका २३ जना सांसदको सहयोगका कारण नै देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। नेता माधवकुमार नेपाल पक्ष भने उक्त बैठकमा सहभागी नहुने सम्भावना रहेको बताइएको छ। नेपाल पक्षका मेटमणि चौधरी, विरोध खतिवडालगायतले बैठकमा सहभागी हुन नसकिने प्रतिक्रिया दिँदै आएका थिए।
यद्यपि एमालेले जारी गरेको ह्विपलाई नमानेको खण्डमा पनि सांसद पद जोगिन सक्ने व्याख्यासहित सर्वोच्चको फैसला आएको थियो।

