यी हुन् पाँच पटक प्रधानमन्त्री बनेका नेपालका तीन राजनीतिज्ञ

थापाले १० वर्ष ५ दिन र  कोइरालाले ८ वर्ष ३ महिना २२ दिन सत्ता सम्हाले


काठमाडौं – नेपाली कांगेसका सभापति शेरबहादुर देउवा आज अर्थात् मंगलबार असार २९, २०७८ का दिन देशको पाँचौं पटक प्रधानमन्त्रीको कुर्सीमा पदासिन भएका छन् । यससँगै नेपालको इतिहासमा पाँचौं प्रधानमन्त्री बन्ने अवसर देउवाले पाएका छन् ।

यसअघि नेपालमा सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइराला पाँच पटक प्रधानमन्त्री भएका थिए ।

राजा महेन्द्रको पालामा सूर्यबहादुर थापा सबैभन्दा पहिलोपटक २०२० साल पुस ८ गते प्रधानमन्त्री भएका थिए । पहिलोपटक  ६५ दिन प्रधानमन्त्रीमा रहने अवसर पाएका सूर्यबहादुर थापाले दोस्रोपटक २०२१ माघ १३ गते पुनः प्रधानमन्त्री हुने अवसर पाएका थिए । त्यसपछि थापाले लगातार चार वर्षभन्दा धेरै अवधि प्रधानमन्त्री भएका थिए ।

त्यसपछि थापा २०३६ साल जेठ १६ गते प्रधानमन्त्री बन्ने तेस्रो अवसर पाए । त्यतिबेला थापाले पुनः चार वर्षभन्दा बढी अवधि प्रधानमन्त्री भएर बिताए । पञ्चायतकालमै ३ पटक प्रधानमन्त्री भएका थापाले २०४६ सालको जनआन्दोलन पछि पनि दुईपटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे ।

थापा चौथो पटक २०५४ साल असोज २१ गते प्रधानमन्त्री भए । त्यतिबेला थापाले ६ महिनाभन्दा बढी प्रधानमन्त्रीका रुपमा काम गरे । त्यसपछि थापा २०६० साल जेठ ५ गते अन्तिमपटक वा पाँचौं पटक प्रधानमन्त्री भए । यससँगै थापा नेपालको इतिहासमा सबैभन्दा बढी २ हजार ६ सय ६५ दिन अर्थात् १० वर्ष ५ दिनसम्म प्रधानमन्त्री रहेका थिए ।

त्यस्तै नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला पनि पाँच पटकसम्म प्रधानमन्त्री बनेका थिए । एउटै बाबुका तीन सन्तान प्रधानमन्त्री बन्ने अवसर पाएका कोइराला परिवारका गिरिजाप्रसाद कोइराला २०४६ को जनआन्दोलनपछि भएको निर्वाचनलगत्तै पहिलोपटक २०४८ साल जेठ १२ गते नेपालको प्रधानमन्त्रीमा नियुक्त भए ।

त्यसपछि २०५५ साल वैशाख २ गते दोस्रो पटक प्रधानमन्त्री बनेका कोइराला २०५६ साल चैत ९ गते पुनः तेस्रोपटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे । त्यसपछि गणतन्त्र स्थापना भएपछि २०६३ साल वैशाख १२ गते प्रधानमन्त्री बनेका कोइराला २०६५ जेठ १५ गते पाँचौंपटक पुनः प्रधानमन्त्री बनेका थिए ।

कोइरालाले पाँच पटकको प्रधानमन्त्रीत्व कालमा जम्मा ३ हजार ३२ दिन अर्थात् ८ वर्ष ३ महिना २२ दिनसम्म देशमा प्रधानमन्त्रीका रुपमा काम गरेका थिए ।

त्यस्तै पाँचौंपटक प्रधानमन्त्री बनेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो पटक २०५२ भदौ २७ गते प्रधानमन्त्री बने । त्यसपछि २०५८ साल साउन ११ गते दोस्रो पटक प्रधानमन्त्री बनेका देउवालाई पुनः २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बन्ने अवसर जुर्यो ।

२०७४ साल जेठ २४ गते चौथो पटक प्रधानमन्त्री बन्ने अवसर पाएका देउवा अन्ततः आज अर्थात् २०७८ साल असार २९ गते पाँचौं पटक प्रधानमन्त्रीको कुर्सी सम्हालेका छन् । हालसम्म देउवा १४७८ दिन अर्थात् चार वर्ष १८ दिन देशको प्रधानमन्त्री बनिसकेका छन् । पछिल्लो पटक प्रधानमन्त्री बन्दै गरेका देउवाको दिन बढ्दै जाने देखिएको छ ।

पञ्चायतकालमा पञ्चायती व्यवस्थाका साथै राजतन्त्र र प्रजातन्त्र शासन व्यवस्था गरी तीनैकालमा प्रधानमन्त्री बन्ने अवसर पाएका थापा र नेपाली कांग्रेसका सर्वप्रिय नेता मानिएका गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको छ ।

नेपालमा यी तीनजना पछि सबैभन्दा धेरै प्रधानमन्त्री बन्ने अवसर लोकेन्द्र बहादुर चन्दले पाएका छन् । चन्द चार पटकसम्म प्रधानमन्त्री भए भने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तीन पटक प्रधानमन्त्री भइसकेका छन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसकेका छन् । चन्द चारपटक गरेर हालसम्म १४४२ दिन प्रधानमन्त्री बने भने ओली तीन पटक गरेर हालसम्म १५४० दिन प्रधानमन्त्री बनेका छन् । त्यस्तै प्रचण्ड भने हालसम्म दुइ पटकमा ५७८ दिन प्रधानमन्त्री भएका छन् ।

प्रतिक्रिया