चामे-झोलुङुगे पुल उच्च जोखिममा


मनाङ – लगातारको अविरल वर्षाले मस्र्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ ।

चामे गाउँपालिका-४ र ५ जोड्ने सो पुल मस्र्याङ्दी नदीमा आएको बाढीले धार काट्दै लगेपछि जोखिममा परेको सो गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण गौलीले जानकारी दिएका छन् ।

उनले भने, ‘जिल्लाको चामे ४ र ५ जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि मस्र्याङ्दी नदीमा बाढी आएको छ । नदीको वहाव अझै उस्तै छ, घटेको छैन । नदीमा आएको बाढीले धार काट्दै लगेको छ । यस कारणले पुलको एकतिरको भाग ढल्किएको छ । झोलङ्गे पुलसम्म पानी आएको र ढल्किएपछि स्थानीयवासीको आवतजावत रोकिएको छ ।’

नदीमा आएको बाढीले यही असार ४ गते माथिल्लो मनाङ जोड्ने मोटरेवल पुलमासमेत असर पु¥याएको थियो । अहिले पुलबाट आवातआवत बन्द छ । स्थानीयवासी यसपछि चामे झोलुङ्गे पुलबाट आवतआवत गर्दै आएका छन् । अहिले यो पुलमासमेत बाढीले क्षति पुर्‍याएपछि माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुने सम्भावना बढेको उनले बताए।

उनि भन्छन्, ‘यो पुल नदीको बाढीले बगायो भने माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुन्छ । ङिस्याङ गाउँपालिका-९ खाङसारस्थित विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायतका पर्यटकीय क्षेत्रबाट सम्बन्ध टुट्नेहुन्छ ।’ त्यस्तै नदीको बाढीले जिल्लाका दर्जनौँ पुल बगाएका छन् ।

जिल्लामा अविरल वर्षासँगै आएको बाढीपहिरोले करोडौँको भौतिक क्षति पुर्‍याएपछि यतिवेला मनाङवासी पीडामा छन् । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ ।

जिल्लाको चार स्थानीय तह नै बाढीपहिरोबाट पूर्णरुपमा प्रभावित भएको छ । नासोँ, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट क्षतिग्रस्त भएको छ, भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ ।

प्रतिक्रिया