

सुदूरपश्चिम प्रदेश अस्पतालमा बालमैत्री कोभिड शैया राखिँंदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने सम्भावानाका आधारमा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य सेवा सुधारमा अग्रसरता लिएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले यहाँका नौ वटै जिल्लामा बालमैत्री कोभिड शैया थप गर्नुका साथै सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको तयारी अघि बढाएको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेश सरकारले पहाडका प्रत्येक जिल्ला अस्पतालमा १० शैया र तराईको धनगढी, महेन्द्रनगर र टीकापुरमा ४० देखि ५० श्ययाको बालमैत्री शैया थप गर्न लागेको जानकारी दिएका छन् ।
‘तेस्रो भेरियन्टमा बालबालिका सङ्क्रमणको जोखिममा पर्नसक्ने भएकाले सोहीको पूर्व तयारीमा जुटेका छौँं’, प्रवक्ता कार्कीले भने,“अन्य संरचना निर्माण र जनशक्ति थप गर्न पनि लागिएको छ । उनले डडेल्धुराबाहेक ६ पहाडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको काम अघि बढेको जानकारी दिएका छन् ।
‘सबै अस्पतालमा हामीले ८० लाखका दरले रकम अक्सिजन प्लान्टका लागि पठाइसकेका छौं’, उनले भने, ‘डडेल्धुरा, कञ्चनपुर र कैलालीमा सङ्घीय सरकारबाट प्लान्ट स्थापना गर्न सहयोग हुने भनिएको छ ।’
उनले धनगढीमा दातृ निकायको सहयोगमा पनि प्लान्ट निर्माण हुने बताइएको जानकारी दिएका छन् । ‘पहाडतिर अहिले प्लान्ट निर्माण बोलपत्र प्रक्रियामा गएर सम्झौताको चरणमा छ’, कार्कीले भने, ‘लकडाउनका कारण सामान सप्लाइ हुन सकेको छैन् ।’

