सानो संख्यामा मन्त्रिमण्डल गठन हुन्छः महामन्त्री कोइराला


नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व सरकारमा पहिलो चरणमा सानो संख्यामा मन्त्रिमण्डल गठन हुने बताए।

आज बुढानिलकण्ठस्थित निवासमा पुगेर देउवालाई बधाई दिएपछि महामन्त्री कोइरालाले पत्रकारहरूसँग कुराकानी गर्दै सानो संख्यामा मन्त्रिमण्डल गठन हुने बताएका हुन्।

महामन्त्री कोइरालाले भने, ‘सबैलाई मिलाएर सरकारमा सामेल गराउनुपर्ने भएकाले पहिलो चरणमा सानो संख्यामा मन्त्रिमण्डल गठन हुन्छ।’

सभापति देउवाले प्रधानमन्त्री भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहे चुनावमा जानुपर्ने अवस्था आउने पनि उनले बताए। ‘अरू आएनन् भने त विश्वासको मत प्राप्त गर्न सकिँदैन। चुनावमै जानुपर्ने हुन्छ,’ उनले भने।

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले सहयोग गरेन भने देउवाले विश्वासको मत प्राप्त गर्न सक्ने सम्भावना कम हुन्छ। नेपाल पक्षकै सांसदको सहयोगमा देउवाले बहुमत देखाएका थिए।

देउवालाई सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा राजीनामा दिँदैछन्।

प्रतिक्रिया