

सपथको समय कुर्दै देउवा

काठमाडौं – सोमबार सवोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि तत्कालै पाँचदलीय गठबन्धनको बैठक बस्यो। बैठकले मंगलबार नै देउवाको सपथसँगै सानो आकारको मन्त्रीमण्डल बनाउने समेत निर्णय गर्यो।
अहिले कांग्रेस सभापति देउवा सपथको लागि तयारी अवस्थामा छन्। तर, राष्ट्रपति भवन शीतल निवासबाट सपथबारे कुनै जानकारी गराइएको छैन। यद्यपी, प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो बालुवाटर छाड्ने र साँझतिर सपथ गर्नेगरी राष्ट्रपति भवनमा तयारी भएको स्रोतले बतायो।
अदालतको संवैधानिक इजलासले सोमबार दिउँसो १ बजे २८ घन्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको २२ घन्टा बितिसकेको छ। सर्वोच्चको आदेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपराह्न ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने हुन्छ।
यता २२ घण्टा बितिसक्दा पनि प्रधानमन्त्री ओलीले राजीनामा गरेका छैनन्। प्रधानमन्त्री ओली सोमबार बेलुका राष्ट्रपति भण्डारीलाई भेट्न गएका थिए। उनी राष्ट्रपतिकोमा राजीनामा दिन गएको अनुमान गरिएको थियो। तर उनले राजीनामा गरेको अहिलेसम्म सार्वजनिक हुन सकेको छैन।
देउवाको नेतृत्व सरकार गठन हुने भएपछि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को शीर्ष नेताहरुको बैठक बस्न लागेको छ। माओवादी केन्द्रबाट मन्त्रीहरुको नाम टुंगो लगाउने भएकाले स्थायी कमिटी बैठक बस्दैछ। त्यस्तै जसपा सरकारमा सहभागि हुने÷नहुनेबारे निर्णय गर्न बैठक बसेको छ।
देउवाले कांग्रेसका दुई, माओवादी केन्द्रका दुई, जसपा र राष्ट्रिय जनमोर्चाका एक एक जनालाई मन्त्री बनाउने तयारी गरेका छन्। तर, जसपा र राजमो अहिले नै सरकारमा जाने/नजाने अन्यौलमै छ।

