

माधव नेपाल, जसपा र जनमोर्चाद्धारा मन्त्री बन्न अस्वीकार, को–को बन्दैछन् मन्त्री?

काठमाडौं – सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएसँगै विपक्षी गठबन्धनले देउवाकै नेतृत्वमा आज सरकार बनाउने निर्णय गरेको छ।
सर्वोच्चको आदेशपछि सोमबार साँझ कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकार गठनका लागि आवश्यक तयारी गर्ने र सरकार बनाउने प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। पाँचदलीय गठबन्धनको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलालाई स्वागत गरेको छ।
अदालतले मंगलबार साँझसम्म प्रधानमन्त्रीमा कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो। सम्भवतः आज नै सानो आकारको मन्त्रिपरिषद निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्नेबारे सोमबार बसेको गठबन्धनको बैठकमा नेताहरुबीच छलफल भएको थियो।
बैठकमा काँग्रेस सभापति देउवाले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पनि मन्त्री बन्न प्रस्ताव गरेका छन्। देउवाको प्रस्तावमै सही थप्दै माधव नेपाल र प्रचण्डले पनि पौडेललाई मन्त्री बन्न आग्रह गरेका थिए। तर, पौडेलले यसबारे पार्टीमा कुनै निर्णय नभएका कारण आजको सपथ ग्रहणमा मन्त्री नबन्ने देउवालाई जवाफ दिएकी छन्।
यता माधव कुमार नेपाल गठबन्धनबाटै बाहिरिएका छन्। अदालतले विपक्षी दलका नेता देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै नेपाल विपक्षी गठबन्धनबाट अलग भएका हुन्। अदालतको फैसलापछि बसेको गठबन्धनको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले परिस्थिति बदलिएकाले गठबन्धनबाट अलग भएको बताएका हुन्।
त्यसैले माधव नेपाल समूह पनि सरकारमा जाने सम्भावना कम छ। यता उपेन्द्र यादवको जसपा पनि सरकारमा सामेल हुने÷नहुनेबारे अन्यौलमै छ। आजै सरकारमा सहभागि नहुने, साउन ७ गते पछिमात्रै सरकारमा जाने परिस्थिति बन्ने सोमबारको बैठकमा जसपाका नेताहरुले देउवालाई जवाफ दिएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार माधव नेपाल, उपेन्द्र यादवको जसपा र राष्ट्रिय जनमोर्चाले तत्कालै मन्त्री बन्न अस्वीकार गरेपछि अब काँग्रेस र माओवादी नेताहरु सरकारमा सहभागि हुनेछन्। सम्भवतः आज देउवाले कम्तिमा एक/एकजना मन्त्री मात्रै राखेर प्रधानमन्त्रीमा सपथ लिनेछन्।
कांग्रेसबाट नेताहरु बालकृष्ण खाँड, जानेन्द्रबहादुर कार्की, गगन थापा, प्रकाशशरण महत मन्त्री बन्ने सम्भावना छ। त्यस्तै माओवादी केन्द्रबाट गृहमन्त्री जनार्दन शर्माको निश्चित जस्तै छ। नारायणकाजी श्रेष्ठले पनि गृहमन्त्रीको लागि लबिङ गरिरहेका छन्।त्यस्तै वर्षमान पुन, शक्ति बस्नेत, कृष्णबहादुर महरा पनि मन्त्री बन्ने दाउमा छन्।
सोमबारको बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत नेताको उपस्थिति थियो।

