

आजदेखि जोन्सन एन्ड जोन्सन खोप लगाइने, यी उमेर समूहकाले पाउने (सूचीसहित)

काठमाडौं – नेपालमा कोभिड–१९ विरुद्धको खोप आजदेखि लगाउने भएको छ। खोप अभियान अन्तर्गत आज (मंगलवार)देखि प्राथमिकताका आधारमा खोप लगाइने भएको हो।
कोरोनाविरुद्धको खोप प्राथमिकताका आधारमा सार्वजनिक यातायातका चालक÷सहचालक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र विदेशी शरणार्थीसहित ५० देखि ६० वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरू गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ उमेर समूहबाहेक पूर्ण र अति अशक्त÷शारीरिक अपांगता भएका व्यक्ति, नेपालमा बसोवास गरिरहेका विदेशी शरणार्थी र स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारीलाई लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो।
५५ देखि ६० वर्षसम्मको उमेर समूहलाई चिनियाँ ‘भेरोसेल’ खोप लगाइने भएको छ। यस्तै खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूह र विश्वविद्यालयका प्रध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालकरसहचालकलाई पनि यो खोप लगाउन लागिएको हो।
मन्त्रालयका अनुसार प्राथमिकतामा परेर पनि पहिले लगाउन बाँकी स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारले समेत तोकिएका केन्द्रमा पुगेर खोप लगाउन सकिनेछ ।
मन्त्रालयका अनुसार खोप यसअघि तोकिएका केन्द्रबाटै लगाउन लागिएको छ। यसका लागि सरकारबाट जारी भएको उमेर खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ।
सरकारले चीनसँग ४० लाख डोज खोप खरीद गरेकोमा शुक्रवार पहिलो चरणमा ८ लाख डोज भेरोसेल र सोमबार कोभ्याक्स सुविधाअन्तर्गत १५ लाख ३४ हजार ८५० जोन्सन एण्ड जोन्सनको खोप नेपाल आइपुगेको हो।
हालसम्म २६ लाख ११ हजारलाई खोपको पहिलो र १० लाख ४१ हजारलाई दोस्रो मात्रा लगाइएको छ । खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान आग्रह गरेको आग्रह समेत गरेको छ ।

