देउवा प्रधानमन्त्री बन्ने भएपछि गृहजिल्लामा विजय उत्सव


डडेल्धुरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा खुसीयाली मनाइएको छ। सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै गृहजिल्ला खुसीयाली मनाइएको हो।

जिल्ला सदरमुकाम बागबजारमा भेला भएका नेता कार्यकर्ताले ‘नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा जिन्दावाद’लगायत नारा लगाउँदै विजय उत्सव मनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रोपटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो। अदालतले नेपालको संविधानको धारा ७६(५)अनुसार दुई देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

सर्वोच्चले देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न भनेको छ। अर्थात् फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ। अदालतले साउन ३ गते बेलुका ५ बजेसम्म संसद् बैठक बोलाउन समेत आदेश दिएको छ।

२००३ साल जेठ ३१ गते डडेल्धुराको साबिक असिग्राम गाविस-५ र हालको गन्यापधुरा गाउँपालिका-१ मा जन्मिएका देउवा ०४८ देखि लगातार यहाँबाट विजयी हुँदै आएका छन्। ०४८ देखिका संसदीय निर्वाचनमा अपराजित उनी २०४८, २०५१ र २०५६ सालका संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भए। ०६४ र ०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर ४ र कैलाली ६ बाटसमेत विजयी भए।

डडेल्धुरामा देउवाले ०७४ मा छैटौंपटक चुनाव जितेका हुन्। उनले ०४८ सालयताका सबै चुनाव जितेका छन्।

प्रतिक्रिया