अमेरिकाले दिने १५ लाख डोज खोप क–कसले पाउँछन्?


काठमाडौं – अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ। अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार सोमबार बिहान नेपाल आइपुग्दै छ।

अमेरिकाले दिने भनेको जोनसन एन्ड जोसनको १५ लाख डोज खोप क–कसलाई लगाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन। एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख मानिसलाई पुग्ने छ।

क–कसलाई खोप लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भनिए पनि खोप कसले पाउने भनेर अझै टुंगो भइनसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पहिलो प्राथमिकता चाहिँ ६० वर्षभन्दा माथिलाई हुन्छ।

खोपका लागि धेरैको निवेदन परेको छ। तर, मन्त्रालयले ६० वर्ष कम उमेर समूहका मानिसहरू, विदेश जानुपर्ने व्यक्तिहरू प्राथमिकतामा रहेको जनाएको छ।

खोप सल्लाहकार समितिले समेत उमेर समूहलाई प्राथमिकतामा राखेर खोप दिन मन्त्रालयलाई सिफारिस गरेको छ। समितिले पनि ५५ वर्ष माथिका उमेर समूहलाई प्राथमिकतामा राखेर खोप दिन सुझाएको छ।

समितिले वैदेशिक रोजगारीमा जाने कामदारलाई समेत खोपका लागि प्राथमिकतामा राख्न मन्त्रालयलाई सुझाएको छ। जुन देशमा कामदार जाँदा खोप अनिवार्य गरेको छ, त्यस्तो देशमा जाने कामदार प्राथमिकतामा पर्ने मन्त्रालयको दावी छ।

यद्यपि कामदारले खोप पाउने/नपाउनेबारे टुंगो लागिसकेको छैन। त्यसको लागि मन्त्रालयले निर्णय गर्नुपर्ने हुन्छ। एकपटक धेरै पेशाकर्मीबाट खोपका लागि निवेदन आएपछि मन्त्रालयलाई पनि सोबारे निर्णय गर्न गाह्रो भएको छ।

कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो। हालै सम्पन्न जी–७ को बैठकले विश्वव्यापीरूपमा खोप वितरणलाई उच्च प्राथमिकतामा राखिने निर्णय गरेको थियो।

नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन्।

नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ।

प्रतिक्रिया