एमाले एकताको विषयमा प्रचण्डकाे चासो, फैसला प्रभावित नहुने नेपालको भनाई


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको भोलिपल्ट दुई नेताबिच नेपाल निवास कोटेश्वरमा भेट भएको हो।

बिहान साढे ११ बजे नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमाले एकताको विषयमा चासो राखेका छन् ।

दुई नेताबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रचण्ड निकट स्रोतले जनाएको छ। विपक्षी ५ दलीय गठबन्धन र नेकपा एमाले भित्र भइरहेको वार्ताका बारेमा नेपाल र प्रचण्डबिच छलफल भएको बताइएको छ।

स्रोतका अनुसार प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् ।

एमालेको किचलो मिलाउन केही दिन यता विवाद समाधान कार्यदलमा वार्ता भइरहेको छ। शुक्रवारको वार्ता पछि मस्यौदामा भएको सहमतिलाई आज अन्तिम रुप दिइने नेताहरुले बताएका थिए।

त्यसअघि अध्यक्ष केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पुनः वार्ता गराउने प्रयास भइरहेको छ । तर नेपाल भने ओलीसँग सर्वोच्च अदालतको फैसलाअघि वार्ता र सहमतिको पक्षमा नरहेको बताइएको छ ।

 

प्रतिक्रिया