

२३.७६ अंकले बढेकाे नेप्से २८ सय २४.८९ विन्दुमा, कारोबार रकम अझैं बढ्न सकेन

काठमाडौं – झण्डै एक महिना लामो लगातारको गिरावटपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम २३.७६ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २३.७६ अंकले बढेर २ हजार ८२४.८९ विन्दुमा उक्लिएको छ ।
गत बुधबार नेप्से १६.९७ अंकले घटेर २ हजार ८०१.१३ विन्दुमा झरेको थियो । आज भने ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ४.४१ अंकले बढेर ५२९.६६ विन्दुमा पुगेको छ । यसदिन व्यापार र अन्य समूह बाहेक सबैजसो समूहहरु धनात्मक (पोजेटिभ भएका छन् । यद्यपि, आज सबैजसो समूहहरु धनात्मक हुँदा पनि कारोबार रकम भने अझैं ५ अर्ब पुग्न सकेको छैन ।
नेप्सेकाअनुसार आज कुल २२३ कम्पनीका एक करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर ५१ हजार ८६८ पटक किनबेच हुँदा जम्मा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँको मात्र कारोबार भएको छ ।

