

कर्णाली प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित

सुर्खेत – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १५औँ बैठक पनि कार्यसूचीमै प्रवेश गर्न नदिएर अवरुद्ध गरेको छ। लगातार बैठक अवरुद्ध गर्दै आएको एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने बताएको छ।
बिहीबारको बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री दल रावलले आफ्नो पार्टीले उठाएको मुद्दाको बारेमा बोलेका थिए । उनले भने ,‘हाम्रो पार्टीले नैतिक ढंगले राजनीतिक मुद्दा उठाएको छ । योतर्फ सरकारको ध्यान किन छैनरु ३९ सिट रहेको प्रदेशसभामा २० सिट एमालेको हुँदा हुँदै पनि १८ सिट रहेका दुईटा दलहरुले सरकार चलाइरहेका छन् ।’ नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमा यो कत्तिको सत्य हो भनेर उनले प्रश्न गरे ।
सभामुखले पटक–पटक आसनग्रहण गर्न अनुरोध गर्दा पनि एमालेले नटेरेपछि सभामुख शाहीले असार २७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरे ।
रावलले जनताको प्यारो पार्टी नेकपा एमालेमाथि ढुङ्गा हाँनिदैछ भनेर आक्रोस पोखे । झण्डै १४ मिनेट चलेको सदनमा रावलले ११ मिनेट जति आफ्नै पार्टीको गुनगान गाउनेदेखि ओलीले गरेको कामको प्रशंशा मात्र गरे । त्यसपछि उनले कर्णालीको अन्तराष्ट्रिय स्तरमा छवी विग्रनेगरी कर्णालीको सरकार अघि नबढोस् भन्दै आजको सदनको कामकारबाही अघि बढ्दैन भनेर आफ्नो भाषण टुङ्ग्याएका थिए ।

