बाढीले फेलाताल शीरको बाँध भत्कायो, बर्ष दिनमै खेर गयो २८ करोड


कास्की – पोखरा महानगरपालिका-२३ स्थित हर्पनखोलामा बुधबार राति आएको बाढीले फेवाताल संरक्षणका लागि बनाइएको सिल्टेसन ड्याम भत्काएको छ । बाढीसँगै हर्पनखोलाले बाटो बदल्दा पोखरा-२३, ठूलाखेतको असी भन्ने खेतमा बनेका ६ घर डुबानमा परेका छन् ।

‘गए रातिको बाढीले हर्पनखोलामा बनाइएको ड्याम भत्कियो, पहिला खेत भएको बस्तीमा प्लटिङ गरेर बनाइएका घरहरुको आँगनमै बाढी आएको छ,’ पोखरा वडा नम्बर-२३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले भने, ‘त्यो ड्यामबाट बालुवा निकाल्ने गरी महानगरले ठेक्का लगाएको थियो, बालुवा निकालिरहेका पनि छन्। बनाउँदा नै कच्ची भएकाले भत्किएको हो ।’

रामसार क्षेत्रमा सूचीकृत फेवाताल पुरिने क्रम रोक्न पाँच वटा खोला हुँदै तालमा मिसिने गेग्र्यान रोक्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा २८ करोड १६ लाख रुपैयाँ लागतमा गत वर्ष फेवातालको सिरानमा पाँच वटा ड्याम बनाइएका थिए ।

फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत पोखरा-२४, पामेस्थित बेतयनी खोला एक र दुई, लौरुक, पोखरा २३ र २४ को अँधेरी तथा पोखरा २३ कै हर्पनखोला घाँटीछिनामा ५ वटा ड्याम थिए । यीमध्ये हर्पनखोलाको खड्का कृष्ण तथा पीके जेभी दाङले निर्माण गरेको हो ।

‘निर्माण सम्पन्न भए पनि डीएलपी (डिफेक्ट लायबिलिटी पिरियड) १३ महिनाको हो । उक्त अवधि अझै ५/७ दिन बाँकी रहेकाले भत्किएको बाँधको पुनर्निर्माण निर्माण व्यवसायीले नै गर्नुपर्ने हुन्छ,’ आचार्यले भने ।

निर्माण सकिए लगत्तै गत वर्षको बाढीले पनि उक्त बाँध बगाएको थियो । ‘हामीले गत वर्ष नै मर्मत पनि गर्‍यौं,’ उनले भने, ‘मर्मत गर्दा जग्गाको तल्लो भागबाटै निर्माण गर्न पाइएन । व्यक्तिको जग्गा भएकाले हामीले डोजर प्रयोग गरेनौँ । जसले गर्दा बाँधको जग बलियो हुन सकेन ।’

प्रतिक्रिया