सवारी दुर्घटना परि चालक र सहचालकको मृत्यु


पाल्पा – पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा पूर्वखोला गाउँपालिका–५ वीरकोटका २६ वर्षीय सवारी चालक सुदीप गैरेको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार चुनढुङ्गा बोकेर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नंको टिप्पर सिद्धार्थ राजमार्गको चरचरेमा दुर्घटना भएको थियो । सडकदेखि ३०० मिटर तल खोलामा टिप्पर खस्दा घाइते भएका चालक गैरेलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ट्र्याक्टर दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका–५ का ३१ वर्षीय सहचालक राजबहादुर चन्द रहेका छन् । चन्दको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

जिल्लाको ग्रामीण सडकखण्ड मेलौलीबाट तितावै जाँदै गरेको से २ त २५८१ ट्याक्टर गएराति पेले भन्ने ठाउँमा दुर्घटनामा भएको हो । दुर्घटनामा परी २२ वर्षीय डम्बर चन्द घाइते भएका छन् । ट्र्याक्टरका चालक डडेल्धुराका परशुराम नगरपालिका–५ जोगबुडाका ४७ वर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया