

निजि अस्पतालले सरकार र कोरोना संक्रमित दुबैतिरबाट शुल्क असुलेको प्रमाण बाहिरियो

काठमाडौं – कोरोनाको महामारीले शिथिल बनाएको राज्य र सर्वसाधारण माथि केही निजी अस्पतालहरुले लुट मच्चाएका छन् ।
पछिल्लो समय सरकारसंग कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेका केही अस्पतालले सरकार र बिरामीसंग दोहोरो रकम असुलेको पाईएको छ ।
९ जना बिरामीले उजुरी दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धानका क्रममा निजी अस्पतालहरुले दुबैतिरबाट उपचार खर्च लिएको भेटिएको हो ।
बिरामीले कुपन्डोलको सर्वाङ्ग स्वास्थ सदन, विराटनगरको विराट मेडिकल शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, मनमोहन मेमोरियल अस्पताल र मेडिकेयर अस्पतालले सरकार र आफूहरु दुबैतिरबाट रकम असुलेको भनी उजुरी गरेका थिए ।
सरकारसँग सम्झौता गरेका अस्पतालले सामान्य रगत परीक्षण सिरम युरिया, क्रियाटिनन, सुगर, सीआरपी, हेमोग्लोबिन, प्लेटलेट्स, ईएसआर परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शय्याको शुल्क लिन पाउँदैनन् । त्यसैगरी दिनमा चार छाक खाना तथा खाजा, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क हुनेछ । तर यी अस्पतालहरूले यी विषयमा शुल्क लिएको पाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यस विषयमा अध्ययन गर्न डा. समीर अधिकारीको नेतृत्वमा जेठ ३० मा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मेडिकल अधिकृत डा. नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य छन् । डा. अधिकारीले दोहोरो शुल्क लिने अस्पताललाई कारवाही प्रकिया अगाडि बढाउने बताए ।
सरकारले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक २ हजार, एचडीयुमा बसेको ३५ सय र आईसफयु तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार मात्रै लिन पाउने व्यवस्था गरेको थियो ।

