कांग्रेसमा कोइराला बिरासतका निर्विकल्प सभापति उम्मेदवार, सिटौलाको तयारी के छ? 


काठमाडौं– संस्थापनइतर समूहबाट सभापतिमा आफू निर्विकल्प उम्मेदवार भएको भन्दै डा. शेखर कोइराला पछि नहट्ने अडानमा जुटेका छन्।

सभापतिका लागि मैदानमा उत्रिने निर्णय गरी सहयोगका लागि वार्तामा बोलाएका उपसभापति विमलेन्द्र निधिसँग कोइरालाले आफू चाहेर पनि पछि सर्न नसक्ने बताइसकेका छन्।

उनले बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका लागि तयार रहन भन्दै सभापतिमा दाबी नगर्नका लागि भनिसकेका छन्। उनले कोइराला परिवारलाई कांग्रेस नेतृत्वमा पुनःस्थापित गराने लक्ष्य राखेका छन्।

यद्यपि, कोइरालाको निकटतम प्रतिस्पर्धीका रुपमा सभापति शेरबहादुर देउवा पुनः उम्मेदवारी दिने निर्णयमा पुगेका छन्। यद्यपि निधिको विद्रोहका कारणले देउवालाई असर पर्न सक्ने भएकाले कोइराला जीत निकाल्नेमा ढुक्क छन्।

‘कांग्रेसको सांगठनिक अवस्थालाई पनि कमजोर बनाएको भन्ने देउवामाथि आरोप छ। र, पुरानै लयमा फर्काउन तथा अर्को पुस्तामा नेतृत्व जान्छ भन्ने विश्वासका आधारमा कोइराला अघि बढ्नुभएको छ’, एक केन्द्रीय सदस्यले भने,‘आगामी महाधिवेशनको चुनावमा जाँदा पनि एउटा छरितो टिम बनाएर जाने अभ्यासमा उहाँ लाग्नुभएको छ।’

कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला, नेत्री सुजाता कोइरालाले पनि सभापतिमा दाबी गरे पनि शेखरलाई नै सहयोग गर्ने अन्तिम निर्णय हुने बताइएको छ।

शेखरले दोस्रो पुस्ताबाट सभापतिमा उम्मेदवारी दिँदै आफ्नो टिमको पदाधिकारीमा युवा पुस्तालाई राख्ने तयारी गरेका छन्। महामन्त्रीमा गगन थापालाई अघि बढाउने रणनीतिक अभ्यासका रुपमा शेखर लागेका छन्।

यता, १४ औं महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि आफ्नो समूहको भेला बोलाएका छन्। उनी सभापतिमा उम्मेदवारी दिने मुडमा नभए पनि कुन टिमसँग मिल्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।

सिटौलाले यस पटक देउवाइतरको समूहलाई नै सघाउने तयारी गरेका छन्। उनले शेखरलाई बढाउन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया