

रसुवाको मौसम प्रतिकूल: कार्गाे उडान भर्न एक हप्ता

धुन्चे – हिमाली क्षेत्रमा मौसम प्रतिकूल भएका कारण हप्ता दिनको प्रयासपछि सोमबार लाङ्टाङमा हेलिकप्टर पुगेको छ । सोमबार मध्याह्न मौसममा केही क्षण सुधार आएसँगै फिस्टेल एयरको हेलिकप्टरले सामान बोकी काठमाडौँबाट लाङ्टाङका लागि एक उडान भरेको हो ।
वर्षाको समय असहज पैदलमार्ग, मोटरबाटोको पहुँच नपुगेको, लाङ्टाङ क्षेत्रमा पुग्न भौगोलिक कठिनाइले गर्दा अत्यावश्यक घरेलुलगायत निर्माण सामग्री हेलिकप्टरमार्फत लानुपर्ने बाध्यता भएको लाङ्टाङका तेम्वा लामाले बताए ।
फिस्टेल एयरका उडान व्यवस्थापकद्वय कृष्ण देउजा र शाक्केन शाक्यकाअनुसार त्रिशूली नदी र लाङ्टाङ खोला आसपासका क्षेत्रमा केही बेर कुहिरो हटेको मौका छोपी आफूहरू कार्यरत कम्पनीका पाइलट क्याप्टेन किरण पुनले उडान भर्ने कार्य सफल पारेका हुन् । हेलिकप्टरबाट लाङ्टाङ एवं गोसाइँकुण्ड जाने पर्यटक तथा धार्मिक यात्रुसमेत प्रतिकूल मौसमले प्रभावित भएका छन् ।
वर्षातको समय हवाई मार्गमा कुहिरो बस्ने र स्थलमार्गका सडकमा पहिराले अवरोध गर्ने समस्या रसुवामा रहेको र स्थानीय अस्पतालमा उपचार हुन नसकी काठमाडौं लैजान थप कठिनाइ पर्दै आएको अनुभव स्थानीय बासिन्दाको छ । यही असार १२ गतेदेखि सक्रिय रूपमा हुस्सुको प्रभाव बढेको छ। आज बिहान क्षणिक समय केही सुधार भए पनि पुनः प्रतिकूल बन्दै गएको छ ।

