मंगलबार राती चिनियाँ राजदूत यान्की आफैं बालुवाटार पुगिन् कि बोलाइयो?


काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्की मंगलबार राती प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटरमा डेढ घन्टा छलफल गरेर फर्किन्।

उच्च स्रोतका अनुसार यान्की आफैं नेकपाको विवाद समाधानका निम्ति यस पटक सक्रिय भएकी होइनन्। उनलाई प्रधानमन्त्री ओलीले बोलाएर छलफल गरेको उच्च स्रोतको दाबी छ।

अघिल्लो पटक भने यान्की सक्रिय भएकी थिइन्। सो बेला जस्तै नेकपा विवाद समाधानका निम्ति अग्रसरता लिनका लागि प्रधानमन्त्री ओलीले यान्कीसँग परामर्श गरेका थिए।

यान्कीले बुधबार बिहानसम्म नेकपा सचिवालयमा रहेका कुनै नेतासँग भेट गरेकी छैनन्। न उनले प्रधानमन्त्री ओलीसँगको भेटका विषयमा सामाजिक सञ्जालमा ‘औपचारिक’ता पूरा गरेकी छन्। उनी सामाजिक सञ्जालमा सक्रिय रहने राजदूत मध्येमा पर्छिन्।

नेकपा विवादले चरम उत्कर्ष लिएपछि प्रधानमन्त्री ओली सक्रिय भएका छन्। सचिवालयमा अल्पमतमा परेका उनी अहिलेको विवाद साम्य पार्नका निम्ति सक्रिय भएका हुन्। उनले मंगलबार राती नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए।

अघिल्लो महिनाको मध्यतिर प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयललाई बोलाएर बालुवाटारमा परामर्श गरेका थिए। सो बेलादेखि नै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विविध विषयमा खटपट चलिरहेको थियो।

प्रतिक्रिया