सचिवालय बैठकको समयसँगै जुधाएर बाेलाइएको मन्त्रिपरिषदले गर्ने सम्भावित र डरलाग्दो निर्णय


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकसँगै जुधाएर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बोलाएको मन्त्रिपरिषदको बैठकले दल विभाजनसम्बन्धी विधयेक जारी गर्न सक्ने अनुमान गरिएको छ।

बुधबार १ बजेका लागि बोलाइएको सचिवालय बैठककै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बोलाउनु र नेकपा विवादको चरम उत्कर्षमा अडान कायम राख्नुलाई यहि अर्थबाट हेर्न थालिएको छ।

यसअघि यो विधयेक जारी गरिसकिएको थियो। जसलाई अध्यादेशका रुपमा केही समयमा नै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन्। जनदबाब भएपछि प्रधानमन्त्री ओलीले उक्त विधयेक फिर्ता गरेका थिए।

उही समयमा मन्त्रिपरिषदको बैठक डाकिएपछि सचिवालयले के गर्ने भन्ने विषय अन्यौलमा परेको छ। सचिवालय बस्छ या बस्दैन मात्र होइन, अनिर्णित हुन सक्ने सम्भावना रहेको छ। सचिवालयमा रहेका महासचिव विष्णु पौडेल, सदस्यहरू ईश्वर पोखरेल र रामबहादुर थापा बादल मन्त्रीमण्डलमा छन्।

सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दर्ता गरेको प्रतिवेदन फिर्ता नलिए ‘कडा कदम’ चाल्ने बताएका प्रधानमन्त्री ओलीले सोही समयमा मन्त्रिपरिषद बैठक राख्नुलाई खास निर्णय गर्न सक्ने कसीमा राखिएको छ। यसको संकेत त पर्यटनमन्त्री योगेश भट्टराईले सांकेतिक रुपमा दिएका छन्। उनले सर्वाधिक कठिन समय भनी केही संकेत दिने कोशीश गरेका छन्।

दल विभाजनसम्बन्धी विधयेक आएको खण्डमा प्रधानमन्त्री ओलीले संसदीय दलमा ४० प्रतिशत पुराएर पार्टी विभाजनमा जान सक्ने बाटो रोजेका कतिपयले बताएका छन् । प्रधानमन्त्री ओलीको समर्थनमा नेकपाका ११५ सांसदको हस्ताक्षर अघिल्लो पटककै विवादका क्रममा रहेको थियो।

यसअघि प्रधानमन्त्री ओलीले मंगलबार राती नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीसँग भेट गरेका थिए भने राष्ट्रपति भण्डारीलाई दुई पटक भेट गरेका थिए। राष्ट्रपति भण्डारीसँग प्रचण्डले पनि भेट गरेका थिए। 

प्रतिक्रिया