

के साँच्चै अनिकाले समय सुरु भएको हो त!

हुन त यो वर्षको मनसुन ठिकै समयमा प्रवेश गरेको हो तर भयो के भने आवश्यक भनौं अर्थात् औसत भन्दा बढी नै सक्रिय भएको भनेर जल तथा मौसम विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।
ठूलो मात्रामा धनजनको क्षती हुने अनुमान लगाएको छ भने १८ लाखभन्दा बढी मानिस (नेपालमा मात्रै) प्रभावित हुने दाबी गरेको छ । हुन पनि लक्षण देखिइसकेको छ । मनसुन सुरु भएको पछिल्लो केही दिन भित्रै अति वर्षा सुरु भएको छ ।
अविरल वर्षाका कारण देशभरबाट हजारौँ मानिस प्रभावित भएका छन् । घरहरू बाढी, पहिरो र डुवानको चपेटामा परेका छन् भने बालीनाली नष्ट भएको छ। मानवीय क्षती पनि बलियोगरी भयो। पशु–चौपाया बगाएको छ। गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिको यस वर्षको प्रतिवेदन विवरणमा उल्लेख छन्।
देशको विभिन्न भागमा निरन्तर मनसुनी वर्षा हुँदा जनधनको व्यापक क्षति भएका विवरण प्राप्त भइरहेका छन्। सरकारी विवरण अनुसार गत जेठ ३१ यता नेपालमा मनसुनजन्य १७८ घटना भइसकेका थिए। त्यसमा अझ थप पनि भएका छन्। ३३ जनाको मृत्यु भइसकेको सरकारी तथ्यांक भए पनि अन्य थपिएका छन्।
मुलुकका प्रमुख राजमार्गहरू सहित विभिन्न सडक खण्डहरू पनि प्रभावित छन्। पहिरोदेखि पुल बगाउनेसम्मका घटना भए। विभिन्न तहबाट हेर्दा यस्ता घटनाहरु जारी छन्।
के अब अनिकाले मौसम सुरु भएको हो त?
गतवर्ष लकडाउनका कारण धेरैले आफ्नो गाउँघर फर्किएर कृषिको काममा सहभागी भएका थिए। सरकारले पनि भूमी नीति अवलम्वन गर्दै बाँझो खेतबारीमा खेती गरी उब्जनी गर्न केही रकम अनुदानको व्यवस्था गरेको थियो । उत्साहित कृषकले खेती पनि गरे भने कति भने स्वेच्छा र समयको सदुपयोग गर्दै बाँझो खेतबारीमा कृषि उपजमा लागेका थिए ।
वर्षाैदेखि बाँझो छोडिएका र छोड्न ठिक्क पारिएका खेतबारीमा गरिएको खेतीले लकडाउनको केही उपलब्धि देखिएको कृषि क्षेत्रमा असार अन्तिम साता परेको वर्षाले ती सबै प्रयासहरु निराशामा बदलेको थियो। जेठ अन्तिम साताबाट नै रोपिएर हरिया भइसकेका फाँटहरु बगर र मरुमूमी बनाइदियो।
लेकका तरेलीमा जरा समाउँदै गरेका धान खेतहरूको कुलो बगाएर लग्यो। पानी हिलो सुकेर चिरा परेको थियो। यस घटनाले उब्जनी आधा घटेको थियो भने वर्षेनी धान बेचेर घर खर्च जुटाउनेहरु आफैँ अन्न बेसाउन बाध्य बनाएको थियो।
यही सम्झेर केही हुने आश गर्दै बगरलाई पल्टाउँदै गह्रा बनाएर हिउँदमा खेती गर्न केही कृषकले बाली लगाए । चैते धान रोप्ने चटारो भन्ने समाचारले मन खुशी भयो। मानिसमा साँच्चै जाँगर र हिम्मतले नै अगाडि बढ्दो रहेछ भन्ने प्रमाणित गरिरहेको छ यो दुनियाँ। प्रकृतिको नियम पनि हो बाँच्नका लागि संर्घष भनेर मन बुझाउने बाटो छ ।
गत साउनमा आएको बाढीले किसानले लगाएको अधिकांश धानबाली नष्ट बनाइदियो। धेरै किसानले वर्षे धान भित्राउन पाएनन् । यस वर्ष धेरै किसान चैते धानको पछाडि लागेका छन् । उत्पादन राम्रो, डुबान र बगानको समस्या पनि नहुने समयमै धान भित्राउन पाउने भएकै कारण किसानको आकर्षण बढ्दै गएको थियो।
पछिल्लो केही समयदेखि देशका विभिन्न ठाँउबाट चैते धान पनि भित्राउन नपाएको खबरले खिन्न बनाएको छ । बर्षातको समयमा हुने डुबानकै समस्याले किसानहरुले चैते धान रोप्न थालेको भए पनि यस वर्ष छिट्टै मनसुन शुरु हुँदा किसानलाई समस्या भएको हो। लगातारको वर्षाले किसानहरुले लगाएको धानबाली खेतमै डुब्ने खतरा रहेको देखिएको छ ।
राम्रो मौसम भए र समयले साथ दिए दुवै बाली लगाउने दाऊ गरेका कृषकहरु एक बालीको खेती पनि राम्रोसँग थन्क्याउन नपाएपछि निरास हुँदै भन्छन साँच्चै अनिकाले मौसम नै सुरु भएको हाे त!
पछिल्लो अद्यावधिक सरकारी विवरण अनुसार गत जेठ ३१ यता नेपालमा मनसुनजन्य १७८ घटना भएका छन् । वर्षाका कारण भएका विभिन्न विपद्का घटनाहरूमा ४८३ घरहरू पूर्ण रूपमा क्षति भएका छन् भने ११२ घरहरूमा आंशिक क्षति भएको छ।
त्यस्तै ३६ वटा सरकारी कार्यालय, ६ वट सामुदायिक भवन र विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल र त्यति नै संख्यामा जलविद्युत आयोजना, पाँच वटा सवारी गुड्न योग्य काठका पुल र दुई वटा बैंक तथा वित्तीय संस्थामा क्षति भएको विवरण प्राप्त भएको छ।
यो क्षतिको लहर अझ तन्किन थाल्यो। प्रकृतिले मानवीय अग्रसरतालाई बारम्बार क्षति किन गरिरहेको छ?
बुढापाका भन्थे– कुनै समय पृथ्वीमा अनिकाल नै हुनेछ। प्रकृतिलाई चुनौति दिनु उपयुक्त हुनेछैन। आखिर त्यस्तै भएको हो त?

