

अध्यक्ष ओली–नेता नेपालको २५ मिनेटको संवादले कता तिर मोडिँदैछ एमालेको बाटो?

काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले शनिबार कुनै खास विषयमा चर्चा गर्नेछ। तर, त्यसअघि शुक्रबार उसका ६ वटा निर्णय भए।
ति मध्ये अन्य सामयिक र साधारण थिए भने एउटाचाहिँ चेतावनीपूर्ण थियो। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका निम्ति दिइएको हस्ताक्षर फिर्ताको अल्टिमेटम। सोमबारसम्म निर्णय गर्नका लागि समयसीमा तोक्दै नेता माधवकुमार नेपाल पक्षका सांसदलाई यस्तो चेतावनी दिइएको छ।
यस्तो चेतावनीको पृष्ठभूमी भने विहीबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच २५ मिनेट भएको टेलिफोन संवाद थियो। यो संवादले एमालेको यात्रा विभाजनकै बाटोतिर मोड्ने अनुमान गर्न सकिन्छ।
टिठलाग्दो संवाद भएको एउटा पाटोको खुलासा ओलीले केन्द्रीय कमिटीमा गरिदिए। नेता नेपालले ‘तपाईँको फोन उठाउन नै मन थिएन, साथीहरुले भने र उठाइदिएँ’ भन्नु र बैठकले समयसीमा तोकी कारबाहीसम्म जाने चेतावनी दिनुलाई एमाले एकीकरणको मार्गमा उभिने संकेतका रुपमा देखिएको छैन।
नेता नेपाल एमालेभित्र बहसमा भन्दा पनि विपक्षी गठबन्धन र दलसँगको निकटतामा छन्। अझ उनले आफ्नै समूहका नेताहरुसँग पनि संवाद नगरेको, सम्पर्कमा नरहेका विवरण सतहमा आउन थालेका छन्।
आखिर के चहान्छन् नेता नेपाल?
यो प्रश्नको स्वभाविक उत्तर छ– नेता नेपाल प्रधानमन्त्री पदबाट ओलीको राजीनामा र प्रतिनिधि सभा विघटनको निर्णयमा आत्माआलोचना। एमाले अध्यक्षबाट राजीनामा र नेतृत्व हस्तान्तरण अनिवार्य।
नेता नेपाल आफू कुनै पनि सर्तमा ओलीको बहिर्गमनलाई मूल मुद्दा बनाउन चाहिरहेको बताइएको छ। खासगरी सरकारबाट उनलाई हटाउनु अनिवार्य सर्त रहेका कारण नेता नेपाल विपक्षी गठबन्धनमा खुलेका छन्।
‘हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नगर्ने कुराकानी उक्त २५ मिनेटसम्म भएको टेलिफोन वार्तामा भयो’, उच्च स्रोतले भन्यो,‘यसपछि एमाले केन्द्रीय कमिटीले चेतावनीपूर्ण निर्णय गरेको थियो र त्यसको प्रस्ताव अध्यक्ष ओलीले नै राखेका थिए।’
नेता नेपाल पक्षका कतिपय नेताहरु नै एमाले भन्दा भिन्न पार्टी गठन गर्ने र अध्यक्ष बनेर चलाउने तयारी पनि भएको छ। यसका लागि निर्वाचन आयोगमा एक तहसम्म पार्टी गठनको प्रक्रिया समेत चलाइएको कतिपयको भनाई छ।
‘ओलीले प्रधानमन्त्रीबाट राजीनामा नगरेको खण्डमा नेता नेपाल एमालेमा बस्ने कुनै पनि मुडमा हुनुहुन्न, त्यसैले जति लचक भएर एमालेका बैठक गरे पनि एउटा न एउटा सर्त अगाडि बाधकका रुपमा आउने नै छ’, उच्च स्रोतले भन्यो,‘यसको अर्थ भनेको एमाले चोइटिनु नै हुनेछ।’

