निधि, सिंह र कोइराला वार्ता: कांग्रेस युवराजहरूले कसलाई बनाउलान् सभापतिको उम्मेदवार?


काठमाडौं– नेपाली कांग्रेसका संस्थापक नेताहरूका तीन पुत्रले आसन्न १४ औं महाधिवेशनमा तीन जना मध्य एक जना सभापतिमा उठ्ने समझदारी गरेका छन्। तीनै जना एक ठाउँमा उभिएको शुक्रबारको भेटपछि विश्वेश्वर प्रसाद (वीपी) कोइराला पुत्र तथा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए।

सभापतिमा उठ्ने संस्थापक मध्येका महेन्द्रनारायण निधि पुत्र उपसभापति विमलेन्द्रको दाबीसँगै नयाँ सल्लाहका लागि गणेशमानसिंह पुत्र तथा पूर्वमहामन्त्री प्रकाशमानसिंहबीच पहिलो चरणको वार्ता केही दिन अघि भएको थियो।

महाधिवेशनमा सभापति शेरबहादुर देउवा फेरि पनि उम्मेदवारी दिने घोषणामा आएपछि नयाँ समीकरणका अनेक चर्चा चलेका थिए। यसबीचमा कांग्रेसका यी तीन राजकुमारको अनौठो समीकरणको समझदारीले नयाँ तरङ्ग उत्पन्न गरेको छ।

‘हामी एकै ठाउँमा उभिने कुरामा सहमति बनेको छ। सभापतिमा को उठ्ने भन्ने पनि सहमतिका आधारमा तय हुनेछ’, कोइरालाले बैठकपछि भने,‘कांग्रेस नेतृत्व अर्को पुस्तामा जानुपर्छ भन्ने विषय स्वभाविक हो।’

महाधिवेशमा अन्य समीकरण कसरी देखा पर्छन् त्यसका आधारमा नै सभापतिमा एक जनाको नाम टुंगो लगाउन सकिने परामर्श भएको थियो। अहिले सभापतिका लागि निधिसहित सिंहको दाबी बलियो छ भने कोइरालाले बलियो दाबी पेस गरेका छैनन्। कोइराला परिवारबाट भने उनका दाजु शेखर कोइराला सभापतिमा लड्ने अभ्यासमा छन्।

प्रतिक्रिया