माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधि पदमुक्त (सूचीसहित)


काठमाडौं – नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ। शुक्रबार निर्वाचन आयोगले एक सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो।

आयोगले निकालेको सूचनाअनुसार पद रिक्त हुनेहरुमा रौतहटका ७ जनप्रतिनिधि छन्। त्यस्तै कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन्। पद रिक्त हुनेमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन्।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो।

त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो।

गत सोमबारको आकस्मिक केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका उनीहरू एमाले प्रवेश गरी पार्टी परित्याग गरेकोले त्यस्तो पद स्वतः रिक्त हुने भन्दै आयोगसमक्ष कारवाहीको पत्र बुझाएको थियो।

यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु

१. मौलापुर नगरपालिका रौतहटका प्रमुख रिना कुमारी साह
२. कटहरिया नगरपालिका रौतहटका प्रमुख सियाराम कुशवाहा
३. देवानी गोनारी नगरापलिकाका उपप्रमुख परनिया देवी
४. मौलापुर नगरपालिका रौतहटका उप्रमुख गौरीशंकर प्रसाद
५. फतुवाविजयपुर नगरपालिका रौतहटका उप्रमुख कान्ति देवी
६. माधवनारायण नगरपालिका रौतहटका उपप्रमुख सिमल कुमारी साह
७. यमुनामाई गाउँपालिका रौतहटका उपाध्यक्ष गितादेवी साह
८. लहान नगरपालिका सिरहाका नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती
९. सम्सी गाउँपालिका महोत्तरीका अध्यक्ष शेष फारुक
१०. भजनी नगरपालिका कैलालीका उपप्रमुख छायाँ देवी देवकोटा
११. गौरीगंगा नगरपालिका ४ कैलालीका वडाध्यक्ष भागिरथी विष्ट
१२. गोदावरी नगरपालिका १ का वडाध्यक्ष शर्मानन्द भट्ट
१३. बर्दगोरिया नगरपालिका ४ का वडाध्यक्ष पुरन विसी
१४. चम्पादेवी गाउँपालिका ७ का वडाध्यक्ष सुरेश कुमार थापा

प्रतिक्रिया