

उपत्यकामा बिहानैदेखि वर्षा, देशका अधिकांश भू–भागमा मेघगर्जनसहित भारी वर्षा हुने अनुमान

काठमाडौं – उपत्यकामा एकाबिहानै देखि पानी परिरहेको छ । पछिल्ला केही दिनयता परिरहेको भारी वर्षा आज (शुक्रबार) पनि देशका धेरै भू–भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज (शुक्रबार) विहानैदेखि प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।
प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र वागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।
भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

